यमराजको अदालत

अकस्मात हृदयघात भइ उसको मृत्यु भयो। परिवारमा रुवाबासी चल्यो। छिमेकीहरूको मन कुँडिएर आयो । कोही भक्कानिए । कोही गहभरी आँसु पारे । छिमेकी रोएको देखेर गाउँलेहरू पनि रोए । अन्तेष्टिमा हजारौंको सहभागीता थियो। ठुला नेताजी आउनु भयो । पार्टिका झन्डा ओडाउँदै परिवारलाई सरकार समक्ष सहिद घोषणा गरि सालिक राख्ने आश्वासन दिनुभयो।

उसलाई लिएर यमराजका दुतहरू हाजिर भए । यमराजले आफ्ना दुतलाई आदेशात्मक भाषामा सोधे – “यमदुत पृथ्वीबासिको शिफारिस के छ ? अनि हाम्रा दुतले के सिफारिस लेखी पठाएका छन् त ?”

“सरकार , फेसबुकका भित्ताभरी पत्र -पत्रीकातिर यसको आत्माले शान्ती पाओस् भनी सबैले कामना गरेका हुँदा स्वर्गमा वास दिनु भनी सिफारिस गरि पठाएका छन् । “

“अनि हाम्रो पुरानो खातामा के लेखिएको छ हेरौँ त ?”

“सरकार , हाम्रो पुरानो खाताको दफा नम्बर १ उपदफा नम्बर ४ ले आउँदैको दिनमा केही दिन नर्कमा राख्नु भनी लेखिएको छ ।”

उनले दफामा लेखिएको बुदाँ हेरे अनि कड्किदै आदेश दिए -” “यमदुत , त्यसोभए यसलाई पहिला तेल उम्लिएको कराइमा एक मिनेट भएपनि हालिहाल ।”