महेन्द्रपुलमा खेलियो मोदीको तस्बिर टाँसिएको फुटबल

पोखरामा विद्यार्थीले फुटबलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर टाँसी सडकमौ फुटबल खेलेका छन् । भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडकमार्ग निर्माण गरेको विरोधमा कास्कीका विद्यार्थी आन्दोलित भएका हुन् ।

सत्तारुढ नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका नेताहरु यसरी विरोधमा उत्रिएका हुन् । पोखराको मुख्य बजार महेन्द्रपुलमा दिउँसो साढे २ बजे यसरी फुटबल खेलिएको हो । विद्यार्थीहरुले भारतीय विस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, नरेन्द्र मोदी खबरदार लगायतका नारा लगाएका थिए ।

अनेरास्ववियु केन्द्रीय नेता सदस्य क्षितिज सापकोटाले भारतले मिचेको भूमि फिर्ता नगरेसम्म आन्दोलन जारी रहने उल्लेख गरे । उनले जस्तोसुकै कदम चालेर भए पनि भूमि फिर्ता गराइछाड्ने चेतावनी दिए ।

अनेरास्ववियु नेता गोविन्द गौतम र पोखरा महानगरपालिकाका अध्यक्ष विशाल तामाङले भारतले नेपालको सार्वभौमिकतामाथि धावा बोलेको दाबी गरे ।

प्रहरीले विद्यार्थीबाट बल खोस्ने प्रयत्न गरे पनि केही बेर विद्यार्थीले प्रहरीलाई छक्याएर बल खेलिरहे । यस क्रममा केही बेर तनाव भए पनि कसैलाई प्रहरीले पक्राउ भने गरेन ।