प्रगतिशील इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) ले पर्वत जिल्ला अस्पताल र जिल्ला सामुदायिक अस्पताल लमजुङलाई फुट अपरेटेड ह्यान्ड वासिङ सिस्टम प्रदान गरेको छ ।
कोरोना सन्त्रासका बेला सुरक्षित तवरले खुट्टाले चलाएर हात धुन मिल्ने मेसिन उपयोगी हुने भएकाले पिनले यस्तो सहयोग गरेको हो । पर्वतमा आयोजित कार्यक्रमको अध्यक्षता पिन गण्डकी प्रदेश सदस्य निशान केसीले गरेका थिए ।
जिल्ला समन्वय समिति पर्वतका सभापति मनोहर बि पौडेल, जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोबिन्द गिरी पहाडी र पर्वत जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले यो मेसिन अस्पतालमा निकै उपयोगी हुने बताए । कार्यक्रम सञ्चालन पिन पर्वत जिल्ला सचिव सम्राट पौडेलले गरेका थिए ।

यस्तै पिन लमजुङ जिल्ला कमिटी र नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले जिल्ला सामुदायिक अस्पताल विकास समितिका अध्यक्ष श्लोकराज पाण्डेमार्फत जिल्ला सामुदायिक अस्पताल लमजुङलाई फुट अपरेटेड ह्यान्ड वासिङ सिस्टम हस्तान्तरण गरेका छन् । कार्यक्रममा प्रदेशसभा सदस्य धनन्जय दवाडी, बेशिसहरका मेयर गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्का लगायतले बोलेका थिए ।




