पर्वतका नारायणको कोरोनाबाट बेलायतमा मृत्यु

बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ। उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो।

केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए। पर्वत चारभञ्याङमा जन्मिएका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए।

पछि बीचैमा जागिर छाडेर नेपाल फर्किएका थिए । स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए। बेलायतमा असल समाजसेवीका रूपमा चिनिएका गुरुङले थुप्रै सामाजिक काम गरेका थिए।

उनकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन्। गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आएका थिए। हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ।
रासस