नेपालगञ्जमा थपिए ७ संक्रमित, ११ बजेबाट कर्फ्यू

नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

सोमबार राती गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको पुष्टि गरे ।

नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। योसहित नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ।

नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ। हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन्।

नेपालगञ्जमा संक्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ। वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय लागू हुनेछ।