स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन् : डिसइन्फेक्टेन्ट स्प्रेले कोरोना रोक्दैन

देशका विभिन्न सहरमा सेनिटाइज्ड टनेल, डिसइन्फेक्टेन्ट स्पे आदि बनिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यस्ता स्पेले कोरोना रोक्न नसक्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मानिसमा किटनाशक औषधी छरेको समाचारहरु आएको उल्लेख गर्दै ती स्प्रेले कोरोना संक्रमण भइसकेका मानिसबाट अरुमा सर्ने सम्भावना नघट्ने उल्लेख गरे । उनले भने, ‘शरीरभित्र कोरोना भाइरस प्रवेश गरेपछि ती रसायन छर्दा भाइरस मर्दैन । यसको वृद्धि हाम्रो शरीरमा भइरहेको हुन्छ ।‘ उल्टै ती स्प्रेले आँखा, नाक, मुखमा हानि गर्ने र स्वस्वप्रश्वासमा समेत समस्या आउनसक्ने डा देवकोटाले बताए ।

सही तरिकाले, सही मात्रामा प्रयोग गर्दा भूई, सतह, गाडी आदिलाई भने निसंक्रमण गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘सबैभन्दा राम्रो उपाय भनेको २० सेकेन्डसम्म मिचिमिची साबुन पानीले हात धुनु हो ।’