गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले शनिबार पोखराका विभिन्न आश्रम तथा प्रहरी चौकीमा मुस्ताङको साग निशुल्क बितरण गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र मुस्ताङका किसानबाट खरिद गरेर उनले पोखराका आश्रमहरुलार्इ साग बाँडेका हुन् । मानव सेवा आश्रम, पोखराका वृद्वाआश्रमहरु, बाल आश्रम , गुरुकुल तथा मन्दिरहरु
र प्रहरी चौकीमा उनले मार्फाली साग वितरण गरे । यसभन्दा अगाडि प्रहरी, सेना, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मी तथा कलाकारसहित अग्रपंक्तिमा कोरोना विरुद्ध अभियानमा चुनौतीका साथ जुट्नेहरुलार्इ साग वितरण गरिएको थियो ।
उनले ५ हजार केजीभन्दा बढी साग बितरण गर्दै छन् । लकडाउनका बेला कृषक बजार खोज्दै बाहिर निस्कदा जोखिम हुने भएकाले कृषकको साटो आफू जोखिम मोल्न निस्केको बिष्ट बताउँछन् । उनले भने, उहाँ, ‘म एक जनालाई बरु कोरोना भएर केही हुदैन, मेरा जनतालाई केही नहोस भन्ने चाहान्छु ।’
यो अभियानले कृषकलाई राहत मिल्नुका साथै अग्रपंक्तिमा खटिएका ब्यक्तित्वलाइ हौसला थपिने विष्टको भनाइ छ । पत्रकार तथा सामाजिक अभियन्ता सुष्मा पौडेलको संयोजनमा आश्रमहरुमा साग बितरण गरिएको हो । सांसद बिष्ट ,पत्रकार पौडेल तथा युवा उद्ममी किमिड गुरुङको टोली बिहानदेखि साझसम्म आश्रम आश्रम डुलेको थियो ।
विष्टले आफ्ना जिल्लाका मजदुर तथा विभिन्न जिल्लामा अलपत्र परेका स्थानीयलाई यातायात ब्यवस्थापन गरी मुस्ताङ पुर्याउने कामसमेत गरेका छन् ।






