मनकारीबाट जुटाएर गरिबलाई राहत दिँदै पोखरा १७

भूगोल र जनसंख्या दुवै दृृष्टिले पोखरा महानगरको ठूलो वडा हो १७ । करिब ८० हजार मानिसको बसोबास रहेको वडामा करिब १ हजार सुकुम्बासी परिवार बस्ने गरेको वडा कार्यालयले जनाएको छ ।

कोरोनाको महामारी सुरु भएपछि चैत २७ गते महानगरले बाँडेको राहात सकिइसकेको छ । कामविहीन गरिब, मजदुर, विभिन्न क्षेत्रबाट पोखरामा आएर बसोबास गर्नेहरुलाई जीवन चलाउनै सकस परेपछि वडाले मनकारीहरुबाट सहयोग जुटाएर राहत वितरण गर्न थालेको छ ।

वडा कार्यालयले बिहीबार र शुक्रबार गरी करिब ३ सय परिवारलाई राहत बाँडेको छ । यसअघि वडाले महानगरबाट प्राप्त ८ सय हाफ र ५ सय फुल प्याकेज राहत बाँडेको थियो । पोखरा १७ की सदस्य एवं महानगर कार्यपालिका सदस्य राधिकाकुमारी शाही योगीले अपांग, सुत्केरी, ज्येष्ठ नागरिक, कामविहीन भारतीय र भोकै बस्नुपर्ने अवस्था आइपरेकालाई टोल विकास संस्थाको सिफारिसमा राहत वितरण गरिएको जनाइन् ।

शुक्रबार कोभिड १९ विरुद्ध हाम्रो अभियानको तर्फबाट केदारनाथ भट्टराईले १ लाख ६ हजार ५ सय ६० रुपैयाँको राहत वडालाई हस्तान्तरण गरे । उनले पोखरा महानगरमा कोही भोकै बस्नुपर्ने अवस्था भएको जानकारी पाए स्थानीय सरकारसँग समन्वय गरी तुरुन्तै राहत दिने प्रतिवद्धता गरे ।
लुम्बिनी विकास बैंकले वडालाई १ सय बोरा चामल हस्तान्तरण गरेको छ ।

बैंकका सञ्चालक रामचन्द्र सिग्देलले पोखरा बैंकको आधार क्षेत्र भएको उल्लेख गर्दैसामाजिक दायित्व वहन गरी सहयोग गरिएको बताए । यस्तै पोखरा १७ का ९ मन्टेसरीहरुले राहातका लागि ३० हजार हस्तान्तरण गरेका छन् ।

पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले विश्वलाई नै त्राहिमाम बनाएको कोरोनाको महामारीमा सहयोग गर्ने बैंक, वित्तीय संस्था, सामाजिक संघ, संस्था र व्यक्तिहरुलाई धन्यवाद दिए । राहत अत्यावश्यक भएका व्यक्तिहरु पहिचान गरी स्थानीय टोल, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिने उनले बताए ।

पोखरा १७ मा डेमसाइड क्लबले ९२ हजार, शितलचौतारी टोल विकास संस्थाले २१ हजार, कमल पुनले १ लाख १० हजार, ब्राइट सन कम्पनीले १ लाख १ हजार ६ सय ३५ रुपैया, गोनेसाले ५० हजार, बाराही टोलकी विष्णु मल्लले ४५ हजार ४ सय २०, टोपराज ढुंगानाले २० हजारको राहत सामग्री उपलब्ध गराएका छन् ।

यस्तै, नबिल बैंक विरौटा शाखा, राष्ट्रिय बाणिज्य बैंक विरौटा, सागर अधिकारी, डिआर भट्टराई लगायतले पनि राहात सामग्री उपलब्ध गराएका छन् ।