१. कहिले अचम्म लाग्छ……
कहिले अचम्म लाग्छ यिनको पारा देखेर
पु¥याउनै नसकिने यी अजिङ्गरको आहारा देखेर
जीवन बुझ्न नसकेर छट्पटाउँछ ऊ
छक्क पर्छु म यो संसार सारा देखेर ।।
देश लुट्नेहरु लुटिरहेछन्, छुटिरहेछन्
यहाँ न्यायालय नै मौन छ ज्यानमारा देखेर ।।
जो जीवनमा लिएर आए या दिएर गए
सम्झन्छु म आजकल तिनलाई तारा देखेर ।।
२. सम्झन्छु
आमा सम्झन्छु अनि गाउँघर सम्झन्छु
तिमी समीप हँुदाको प्रहर सम्झन्छु ।।
कति पूरा हँुदै होलान् कयौँ अधुरा
बालापनका तिनै रहर सम्झन्छु ।।
तपाई जे नाम दिनोस् यसले स्वीकार्छ
विपत्तिमा रित्तिएको सहर सम्झन्छु ।।
समय रहन्न है वशमा कसैको
नदीले छोडेको त्यो बगर सम्झन्छु ।।
अवरोघ जे आउन् गन्तव्य छ टाढा
म साँच्चै जिन्दगी यो सफर सम्झन्छु ।।
दाङसिङ–८ नुवाकोट
हाल पोखरा–११




