वैशाख १७ गते २०७७

ताजा समाचार

वैशाख १७ गते २०७७

स्थानीय तहहरु बजार व्यवस्थापनभन्दा राजनीतिमै केन्द्रीत भए : कोइराला



महासंकटमा पनि स्थानीय सरकारहरु बजार व्यवस्थापन, अनुगमन, उत्पादन वृद्धिलाई प्रोत्साहन गर्नुभन्दा राहत वितरण र भोटको राजनीतिमै लागेको उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले बताएका छन् ।

उनले कानुननले दिएका अधिकार प्रयोग गरी बजार अनुगमन, आपूर्ति व्यवस्था हेर्न अधिकांश स्थानीय तहले वेवास्ता गरेको कोइरालाको भनाइ छ । नेपालदुत डटकमसँग कुरा गर्दै उनले स्थानीय सरकारहरु र प्रदेशबीच पनि समन्वय कम देखिएको उल्लेख गरे ।

गण्डकी प्रदेशमा कम्तीमा १ महिना पुग्ने खाद्यान्न स्टक भएकाले नआत्तिन उनले अनुरोध गरे । कोइराला भने, ‘उपभोक्ताले अत्यावश्यक वस्तु किन्न जाँदा नपाएर फर्किनुपर्ने अवस्था छैन । संयम बनौं, लकडाउन पालना गरौं ।’

बजारमा खाद्यवस्तुको मूल्य र उपलब्धता सहज रहेको उनको भनाइ छ । केही खाद्यान्नमा भने ३ पटकसम्म मूल्य बनेको उनले जनाए । कोइरालाले भने, ‘रातो दाल, सूर्यमुखीको तेल र आँटामा मूल्य बढेको छ ।’

प्रदेश सरकार अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले भने यो अवधिका सक्रियतापूर्वक काम गरिरहेको उनले उल्लेख गरे ।