क्रिष्टल इन्टरनेसनल मण्टेश्वरी किण्डर वल्डमा मंगलबारबाट अनलाइन कक्षा सुरु भएको छ ।
कोराना संक्रमणबाट मानव अस्तित्व जोगाउन व्यक्तिगत दुरी कायम राख्नुपर्ने अवस्थामा बच्चालाई निरन्तर सिकाई प्रक्रियामा सहभागी गराउन अनलाइन कक्षा चलाइएको हो । साना बाबुनानीलाई यस प्रबिधिबाट पढाउन केही असहज भए पनि अहिलेको समय प्रबिधिमैत्री भइसकेकाले र जागरुक अभिभावकको साथले यो सम्भव भएको मन्टेश्वरीकी डाईरेक्टर रिना पौडेलले सुनाइन् ।
उनले बालमैत्री वातावरणमा वैज्ञानिक तवरले शिक्षा प्रदान गरिरहेको मन्टेश्वरीले महासंकटमा पनि बालबालिकालाई ज्ञानबाट विमुख नगर्न यस्तो प्रयास गरेको उल्लेख गरिन् । पौडेलले भनिन्, ‘किनकि घर बालबालिकाको प्रथम पाठशाला हो त्यसैले पनि यसरी पढाइ चलाउँदा बाबुनानीले आफ्ना बाबा आमाको प्रत्यक्ष निगरानीमा उचित शैक्षिक वातावरणसमेत पाउँछन् ।‘

अभिभावक मीनराज ओझाले नयाँ शैक्षिक सत्रका पुस्तक आइनसकेको अवधिमा अरु बेलामा पनि यस्तो सिकाई जरुरी हुने औल्याए । अर्का अभिभावक गोविन्द देवकोटाले मोवाइल र इन्रनेट सूचना, रमाइलोका लागि मात्र नभएर ज्ञानका लागि पनि प्रयोग हुनु सुखद कुरा भएको उल्लेख गरे । अनलाइनबाटै आर्ट क्राफ्टका कक्षासमेत सञ्चालन हुँदा बालबालिका उत्साहित हुने उनले बताए।
क्रिस्टलले विद्यार्थीलाई पढाइमात्र नभई प्रबिधि प्रयोग गरी गृहकार्य र कक्षाकार्यसमेत दिने गरेको छ । विद्यालय जान नपाएर घरमै दिक्क मानिरहेका बालबालिकाले पनि रुचिसाथ कक्षामा भाग लिएका थिए ।
म्यानेजिङ डाईरेक्टर पौडेलले जुम मिटिङमा सहभागी सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यार्थीलाई धन्यवाद दिइन् । लकडाउन नखुल्दासम्म निरन्तर अनलाइन कक्षा सञ्चालन हुने मन्टेश्वरीले जनाएको छ ।




