महतगौडामा रक्तदान, २३ युनिट रगत संकलन

लकडाउनका बेला सार्वजनिक कार्यक्रमसँगै रक्तदान पनि कमै भएका छन् । रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएपछि विभिन्न संघ, संस्था र व्यक्तिले रगत जुटाउने पहल थालेका छन् ।

पोखरा १७ को महतगौडामा मंगलबार भएको रक्तदानमा २३ युनिट रगत संकलन भएको छ । स्थानीय शंकरराज भण्डारी, सुवास भण्डारी, उत्तम पौडेल, प्रकाश भण्डारी र अनिषा बरालको अग्रसरतामा रक्तदान आयोजना गरिएको हो ।

महतगौडाकी अनिता शर्मालाई रक्त सञ्चार केन्द्र रामघाटका अर्जुन ज्ञवालीले ब्लडब्याग हस्तान्तरण गरी रक्तदात सुरुआत गरेका थिए । ज्ञवालीले युवाले प्रशंसनीय काम गरेको भन्दै रगतले मानिसको जीवन बचाउने उल्लेख गरे ।

आकस्मिक रक्तदान अभियानका सदस्यसमेत रहेका शंकरराज भण्डारीले विश्वव्यापी महासंकटमा कुनै बिरामीले रगत अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने सदिच्छाले कार्यक्रम गरिएको बताए । रक्तदानका लागि ढुंगेसाँघु बोर्डिङ स्कुल र प्रकाश भण्डारीले विशेष सहयोग गरेका थिए ।