खगराजले दिए रुपामा राहत, महानगरको राहतकोषलाई ५० हजार

पूर्व स्वास्थ्यमन्त्री तथा कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सांसद खगराज अधिकारीले पोखरा महानगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

अधिकारीले उक्त रकम पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरे । अधिकारीले लकडाउनका कारण कोही पनि भोको बस्नुपर्ने अवस्था आउन नदिन प्रभावकारी रुपमा राहत वितरणका लागि आग्रह गरे ।

अधिकारीको पहलमा रुपा गाउँपालिका वडा नं ६ रुपाकोटमा रहेका मुस्लिम समुदायका १ सय २५ परिवारका लागि राहत प्रदान गरिएको छ । सांसद अधिकारीले चामल, तेल, दाल लगायत दैनिक उपभोग्य राहत सामाग्री गाउँपालिकाका अध्यक्ष नवराज ओझालाइ हस्तान्तरण गरेका हुन् ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले डेढ लाख बराबरको दैनिक उपभोग्य राहत सामाग्री तत्कालै समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिए ।