पौरखी स्वयम सेवा समूहले लकडाउनका कारण खाना खान नपाउने अवस्थामा पुगेकाहरुलाई खाना खुवाइरहेको छ । समूहले बिहान खाना पकाउने, त्यसपछि प्याकिङ गरेर सडकमा अलपत्र परेकालाई खाना खुवाउने गरेको छ ।
खानामा दाल, भात र तरकारी छन् । तयारी खाना प्याकिङ गर्दै विभिन्न ठाँउमा गासको अभाव झेलिरहेकालाई खुवाइएको समूहका सदस्य भानुभक्त अधिकारी बताउँछन् । १० दिनसम्म सञ्चालन भएको यो अभियानबाट १६ हजारभन्दा बढी ले खाना खाएका छन् ।
उनले ३ सय ४ घर, परिवारलाई पोखरादेखि माछापुच्छ्रे गाउँ पालिकासम्म राहतको ब्यबस्था गरिएको बताए । मंगलबारदेखि अनुमति समाप्त हुने भएकाले खाना खुवाउन नसकिने उनले सुनाए ।
समूहका सदस्यले पोखरा–७ स्थित शान्तिनगर बैंक्युटमा खाना पकाउने बन्दोबस्त गरेका थिए । देश लकडाउनका कारण आफना गाँउघर जान नपाएका सडकमै अलपत्र परेका र काम गर्न नपाएर रासन विहिन भएकालाई समूहले निशुल्क खाना खुवाउँदै आएको समूहका संयोजक जनक पराजुलीले बताए ।

पोखरा महानगरपालिकाबाट वैशाख १५ गते सम्मका लागि अनुमति लिएको र सोही अनुसार सोमबार साँझसम्म खाना खुवाएको सदस्य शिव थापाले बताए । लकडाउन थपिए पनि खाना खुवाउने कार्यक्रम भने नथपिएको उनले प्रष्ट गरे ।
स्थानीय, सर्वसाधारण, जनप्रतिनिधि तथा प्रहरीसँग समन्वय गरी खाना पुर्याउने गरिएको समूहका सदस्य विष्णुप्रसाद बरालले बताए । नौ जना मिलेर आफ्नै खर्चमा निःशुल्क खाना खुवाउने अभियान चलाएको सदस्य खेमराज तिमिल्सिनाले सुनाए । समूहमा जनक पराजुली, विष्णुप्रसाद पौडेल, राजु शर्मा तिमिल्सिना, भानुभक्त अधिकारी, विष्णुप्रसाद बराल, प्रजापति अधिकारी, शिव थापा, राजेन्द्र पौडेल र खेमराज तिमिल्सिना छन् ।
उनीहरुलाई १ सय भन्दा बढि स्वयमसेवीले सघाएका थिए । समूहले आवश्यकता परे भविष्यमा पनि सहयोगका लागि तयार रहेको जनाएको छ ।




