पोखरा २८ मा दोस्रो चरणको राहत वितरण

पोखरा महानगरपालिका वडा नं. २८ मा दोस्रो चरणको राहत वितरण गरिएको छ । वाडका बिपन्न, असहाय, गरिब र ज्यालादारी गर्ने मजदुर गरी १६१ परिवारलाई राहत वितरण गरिएको हो ।

१ सय ८ परिवारलाई फुल प्याकेज र ५८ परिवारलाई हाफ प्याकेज राहत आइतबार वितरण गरियो । वडाभित्र नागरिक भोकै बस्नुपर्ने अवस्था सिर्जना नहोस् भनी पोखरा २८ मा जन्मी विभिन्न विभिन्न ठाउँमा रहेका मानिस र अन्य शुभेच्छुकबाट ऐच्छिक रकम संकलन गरी राहत वितरण गरिएको अध्यक्ष निर्मल दियालीले जानकारी दिए । उनले भने, ‘जनताको घर, आँगनकै सरकार भएकाले जनताको चुलो ननिभ्ने प्रबन्ध गरेका हौं ।’

वडाका विभिन्न संघ, संंस्था ,सामाजिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, जन्मथलो पोखरा २८ भर्इ हाल सयुक्त राज्य अमेरिकाबाट सहयोग जुटेको हो । अमेरिकाबाट विजय बुढाथोकीले संयोजन गरी सहयोग पठाएका थिए । वडाध्यक्ष दियालीले यस्तो विषय परिस्थितिमा पनि सहयोग गरी महामारीको सामना गर्न सघाउने सबैप्रति कृतज्ञतासमेत प्रकट गरे ।