विश्व व्यापी माहामारीको रुपमा उत्पन्न नोभेल कोरोना भाईरस ( कोभिड–१९ ) कारण मुलुक लक डाउन भएसंगै केही पर्यटक मुस्ताङमै छन् ।
लक डाउनको पहिलो चरण चैत्रको दोश्रो साता राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ आएका २ सय ३ पर्यटक मध्ये अहिले १२ जना पर्यटक मुस्ताङमा सुरक्षित बस्दै आएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले जनाएको छ ।
कोरोना भाईरस कोभिड–१९ को संक्रमणको जोमिख नेपाल भन्दा बढी भएको भन्दै उनीहरु मुस्ताङबाट फर्किन नचाहेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए । मुस्ताङमा बसेका अन्तिम १२ पर्यटकहरु ९ देशका छन् । उनीहरु ४ साताअघि देखि मुस्ताङमा छन् ।
मुस्ताङमा बसेका १२ पर्यटक मध्ये अष्ट्रेलियाका २ जना ,रसियाका २ जना ,अमेरिकाका २ जना छन् भने फ्रान्स ,जर्मन ,ईटाली,जापान ,स्वीडेन र युक्रेनका समान १ ÷१ जना पर्यटक छन् । मुस्ताङको छेङ्गुरमा ५ जना ,जोमसोममा ४ जना र घासामा १ जना पर्यटक बस्दै आईरहेका छन् ।
यसअघि नेपाल पर्यटन बोर्ड र संम्वन्धित राजदुताबासको समन्वयमा मुस्ताङबाट २१ देशका १ सय ९१ विदेशी पर्यटकको उद्दार भएको एक्यापले जनाएको छ ।
बाँकी रहेका १२ पर्यटक भने मुस्ताङमा बस्न कुनै समस्या नरहेकाले स्थानीय प्रशासन र एक्यापको संम्पर्कमा नआएको एक्याप प्रमुख दाहालको भनाई छ । मुस्ताङबाट उद्दार भएका कतिपय पर्यटक संम्वन्धित देश फर्किसकेका छन् भने कतिपय अझै पोखरा र काठमान्डौ लगायतका स्थानमा छन् ।
मुस्ताङमा रहेका १२ जना पर्यटक मध्ये ५ जना विदेशी पर्यटकले भने ४ साता अघिबाट वारागुङ मुक्तिक्षेत्र–१ को छेङ्गुरको होटल मुस्ताङ मनोरमा ईनमा बस्दै आईरहेका छन् । उनीहरु कोरोना भाईरसको जोखिम छल्ने र दैनिक शारिरिक योगाभ्यासमा व्यस्त हुने गरेको एक्यापका पर्यटन सहायक प्रेम बस्नेतले जानकारी दिए ।

योगाभ्यासमा व्यस्त पर्यटक
दैनिक ३ पटक अर्थात बिहान,दिउँसो र बेलुकी निरन्तर होटल भित्रै योगकर्म गर्ने गरेको बस्नेतले बताए । उनीहरु अलग ÷अलग रहेर फरक ÷फरक तरिकाले योग गर्ने गरेको बस्नेतले उल्लेख गरे । विभिन्न प्रकारको योगाभ्यास गर्दै आईरहेका उनीहरु तत्कालै मुस्ताङ छोड्न नचाहेको उनको भनाई छ ।
रसियाका पर्यटक पेवेल ग्याल्किनले हिमाली सौन्दर्यतामा रम्दै सुरक्षित योगाभ्यासले आनन्दित तुल्याएको प्रतिक्रिया दिए । उनले आफुहरु पृथक पृथक देशको भएपनि अझै केही समय मुस्ताङमै बिताउने बताए ।






