महानगरका वडाध्यक्षहरुले भने : विकास योजनाका काम गरौं, दोस्रो चरणको राहत दिऔं

पोखरा महानगरपालिकाका विजयपुरपारीका वडाध्यक्षहरुले लकडाउनका कारण विपन्न परिवारमा परेको समस्यालाई समाधान गर्ने विषयमा छलफल गरेका छन् । पोखरा महानगरपालिका वडा नं. २७ को कार्यालय तालचोकमा मंगलबार दिउँसो बसेको बैठकमा वडाध्यक्षहरुले छुटेका विपन्न परिवार एवं दोस्रो चरणको राहत कार्यलाई प्रभावकारी बनाउन महानगरसँग समन्वय गर्ने निर्णयसमेत गरेका छन् ।

पहिलो चरणमा बाँडिएको राहतले ठुलो परिवारलाई अपुग भई समस्या पर्दै गएको र केही व्यक्तिले अनावश्यक रुपमा राहत लिएको पाइएकाले वडाध्यक्षहरुले समिक्षा गरेका थिए । पहिलो चरणको राहत बितरण चाँडै भएको भन्दै वास्तविक मजदुर र विपन्न परिवारलाई अहिले समस्या परको पनि ति वडाध्यक्षहरुको भनाइ छ ।

कोभिड—१९ का कारण गरिएको लकडाउनले विकास निर्माणका योजनाहरु प्रभावित भएको उल्लेख गर्दै, वडाध्यक्षहरुले सामाजिक दुरी कायम गरेर भएपनि वडाका विकास योजना अघि बढाउन महानगरसँग आग्रह गर्ने जनाएका छन् । उनीहरुले आवश्यक सुरक्षा अपनाएर विकास योजनाको कार्यान्वयनमा विपन्न परिवारको श्रमलाई जोड्न सकिनेसमेत ठहर गरेका छन् ।

केही वडामा विभिन्न संघ, संस्थाले आफुखुशी राहत बितरण गरेको पाइएकाले महानगर वा वडा कार्यालयसँग समन्वय गरी बितरण गर्न र त्यसको तथ्यांक वडालाई उपलब्ध गराउनसमेत वडाहरुले आग्रह गरेका छन् ।

कोभिड—१९ का विरुद्ध नेपाल सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्दै, लकडाउनलाई सफल बनाउन आआफ्ना वडाबासीलाई आग्रह गरेका छन् ।

वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा बसेको बैठकमा वडा नंं २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्ग, वडा नं. २८ का वडाध्यक्ष निर्मल दियाली, वडा नं. २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ्ग, वडा नं. ३१ का वडाध्यक्ष कमलबहादुर थापा, वडा नंं ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्की र वडा नंं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको उपस्थिति थियो ।