पोखराको न्यायिक समितिमा अनलाइनबाटै उजुरी

पोखरा महानगरपालिको न्यायिक समितिमा अनलाइनमार्फत् उजुरी दिन सकिने भएको छ ।

न्यायिक समितिसमक्ष अनलाइनमार्फत उजुरी दर्ता गराउन सकिने व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले न्यायिक समितिले अनलाइन मार्फत् पीडितले उजुरी लिने व्यवस्था गरेको पोखरा महानगरपालिकाका उपप्रखु एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् ।

ns.pokharamun@gmail.com  मार्फत उजुरी दर्ता गर्न सकिन्छ, उपप्रमुख गुरुङले भनिन् । कोनोना रोकनाथ तथा नियन्त्रण मुल समितिको बैठकले अनलाइनमार्फत उजुरी लिने निर्णय गरेको थियो भने महानगर न्यायिक समितिको सोमबार बसेको बैठकले न्यायिक समितिसमक्ष अनलाइनमार्फत दर्ता उजुरीको सम्बोधन गर्ने निर्णय गरेको हो ।

लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले न्यायमा सहज पहुँच बनाउन समितिले अनलाइनमार्फत् उजुरी दर्ता गर्ने व्यवस्था मिलाएको हो । स्थानीय तहका विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमै न्यायिक समितिको व्यवस्था गरिएको छ । संविधानको व्यवस्था अनुसार महानगरका उपप्रमुख संयोजक र २ सदस्य रहने व्यवस्था गरेको छ ।

न्यायिक समितिलाई १३ वटा विवादको निरुपण र ११ वटाको मेलमिलाप गराउने पाउने व्यवस्था छ ।