कांग्रेस पोखरा १७ ले दियो सहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री

नेपाली कांग्रेस वडा इकाइ पोखरा १७ ले शहरी स्वास्थ्य केन्द्रलाई पिपिई लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाईरस संंक्रमणबाट जोगिनुका साथै बिरामीलाई सुरक्षित तवरबाट उपचार प्रदान गर्नका लागि सहज होस् भन्ने हेतुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको नेपाली कांग्रेस पोखरा १७ का सभापति देवराज आचार्यले बताए ।

महागरपालिकाभित्र पनि अत्यधिक जनघनत्व भएको वडामा हुन सक्ने कोरोनाको जोखिमलाई न्यूनिकरण गर्नका लागि राज्यले गरिरहेका गतिविधिलाई कांग्रेसले पनि सहयोग गरेको जिल्ला सदस्य पुण्डरीप्रसाद बरालले उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष बिमला भण्डारीले कोरोना संक्रमणको जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मिलाई आवश्यक सामाग्री व्यवस्था गर्न सकेमा उनीहरुले सहज वातावरणमा सेवा दिन सक्ने बताइन् ।

केन्द्रलाई पिपिई, एन नाइन्टी फाईभ मास्क, ज्वरो मापनका लागि थर्मगन, लगायत प्रदान गरिएको इकाइ सचिव डिआर भट्टराईले जानकारी दिए ।

शहरी स्वास्थ्य केन्द्रकी प्रमुख निर्मला अर्याल ज्ञवालीले संकटका बेला प्राप्त भएका सामग्रीले सेवा प्रवाहमा सहज हुने बताइन् ।