सरुभक्तलाई मानश्री पुरस्कार, गौतमलाई वसुन्धराश्री

साहित्यकार सरुभक्त र डा ध्रुवचन्द्र गौतम पुरस्कृत हुने भएका छन् । कविता, मुक्तक, गीति नाटक र उपन्यास सिर्जना गरी नेपाली साहित्यमा योगदान गरेकोमा सरुभक्तलाई मानश्री पुरस्कारबाट सम्मान गर्न लागिएको हो । उनलार्य नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरिने भएको छ ।

आधुनिक कथा, उपन्यास र नाटकको क्षेत्रमा योगदान गरेकोमा वसुन्धरा श्री पुरस्कार डा ध्रुवचन्द्र गौतमलाई प्रदान गर्न लागिएको हो । गौतमलाई ७५ हजार रुपिया र सम्मानपत्र प्रदान गरिनेछ ।

वसुन्धरा मान प्रतिष्ठानका कुलपति डा दुवसु क्षेत्रीको अध्यक्षतामा शनिबार बसेको बैठकले यो निर्णय गरेको हो ।

विस २०१२ मंसिर १२ गते पोखरामा जन्मिएका साहित्यकार सरुभक्त नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपतिसमेत हुन् । उनका मुक्तक, कविता, काव्य, नाटक, कथा, उपन्यास गरी ३ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।