पोखराको कोषमा गुप्तेश्वर गुफाको ५ लाख, डेभिजफल क्लबको १ लाख

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शनिबार पोखरा छोरेपाटनको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले ५ लाख सहयोग गरेको छ ।

समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको टोलीले ५ लाखको चेक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरे । प्रमुख जिसीले सहयोग सानो÷ठूलो नहुने भन्दै गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गरेको सहयोग सह्रानीय रहेको बताए । उनले महानगरले करिब २५ हजार परिवारलाई राहत वितरण गरिसकेको बताउँदै राहत वितरणमा भएका कमी कमजोरीको बारेमा मसिनो गरी अध्ययन अनुसन्धान गरिएको बताए ।

जनताले तिरको करबाट नै महानगरले राहत वितरण गरेकाले त्यसप्रति निगरानी राख्न र राहत पाउनै पर्ने केही पनि नछुटुन भनेर महानगरले पैसा नलाग्ने हटलाइन ११८१ सञ्चालनमा ल्याएर गुनासोलाई सम्बोधन गरिरहेका जानकारी उनले दिए ।

गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफाको आम्दानीबाट नै महानगरलाई सहयोग गरेको बताउँदै दुई शिक्षण संस्था पनि त्यसैको आम्दानीबाट सञ्चालन भइरहेको बताए । गुफा अवलोकन बन्द हुँदा आम्दानी घटेको उनको भनाइ छ । समितिका सचिव हरि लम्सालले लकडाउनका कारण समस्यामा परेका पीडितले राहत पाउने वातावरण मिलाउन मिडियाले पनि भूमिका खेल्नुपर्ने बताउँदै सतहीभन्दा पनि अध्ययन र अनुसन्धान गरेर सामाचार सम्प्रेषण गर्न उनले आग्रह गरे ।

छोरेपाटनकै डेभिजफल क्लबले पनि महानगरको राहत कोषमा १ लाख सहयोग गरेको छ । क्लबका अध्यक्ष खेमराज बराल (पुष्प)ले राहत वितरण गर्दा वास्तविक सेवाग्राहीलाई दिने वातावरण सबैले मिलाउनुपर्ने बताए । क्लबका उपाध्यक्ष कमलबहादुर भुजेलले समस्यामा परेकालाई महानगरले राहत वितरण गर्नु राम्रो कार्य भएको भन्दै यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

पोखरा महानगरपालिकाको राहत कोषमा शनिबारसम्म ३ करोड ८८ लाख ७५ हजार ५ सय १ रुपैंया जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिनेछ ।