लकडाउनले सबैभन्दा बढी मारमा मजदुर छन् । धेरैजसो मजदुर अहिले कामविहीन छन् भने घर जान सरकारले प्रतिबन्ध गरेको छ ।
यस्तो अवस्थामा सकसमा परेका उनीहरुलाई मनकारीहरुले सहयोग पनि गरिरहेका छन् । यसैबीच पोखरामा अलपत्र परेका ७ मजदुरलाई राहतसहित उनीहरुको कार्यस्थल पठाइएको छ । दाङका ५ जना र सल्यानका २ जना मजदुरलाई पोखरामा अलपत्र परेका थिए ।
ती मजदुर मादीबाट ११ घन्टा पैदल यात्रा गरी बिहीबार साँझ पोखरा १७ विरौटा आइपुगेका थिए । उनीहरु हिडेरै घर जान लागेका थिए । उनीहरु पाइपलाइन विस्तारको काममा मादी गाउँपालिका–८ नाघिधारामा कार्यरत थिए ।
ती मजदुरलाई गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाका स्वकीय सचिवसमेत रहेका अनेरास्ववियु नेता महेन्द्र पौडेलको पहलमा राहतसहित फर्काइएको हो । उनीहरुलाई १ महिनालाई पुग्ने खाद्यान्न पनि दिइएको पौडेलले जानकारी दिए ।
प्रदेश सरकारले उनीहरुलाई ३५ केजी चामल, १४ किलो दाल, साढे २ लिटर तेल र ७ पोका नून दिएर गाडीको व्यवस्था गरी मादी नै पठाएको छ । विरौटामा रहेका सुरक्षाकर्मी उनीहरुलाई अघि बढ्न नदिएपछि मजदुर बिचल्लीमा परेका थिए ।
बिहीबार ती मजदुरलाई पौडेलले ड्यामसाइड युवा क्लबका अध्यक्ष पदम ढकालसँग समन्वय गरी ड्यामसाइडको १ होटलबा बस्ने, खाने व्यवस्था मिलाइदिए । शुक्रबार पौडेलले कास्कीका प्रमुख जिल्ला अधिकारी र पोखरा महानगरका मेयरसँग सम्पर्क गरे पनि उनीहरुलाई सहयोगको उपाय पाएनन् ।
त्यसपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट उनले सहयोगको आश्वासन पाए । शुक्रबार दिउँसो मुख्यमन्त्रील गुरुङले राहतसहित मजदुरलाई कार्यस्थलमै फर्काउने व्यवस्था गरिदिए । पौडेल महामारीमा संकटमा परेकाहरुलाई सबै तहका सरकारले सहयोग गर्नुपर्ने बताए । उनले राहत चाहिने वर्ग खोजेर सहयोग गर्न पनि आग्रह गरेका छन् ।






