पोखरा १९ मा १८ जनाको कोरोना जाँच

पोखरा महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार १८ जनाको ¥यापिड डायनोस्टिक टेस्ट (आरडीटी) गरिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा पोखरा १९ को व्यबस्थापनमा नव आदर्श सामुदायिक विकास समाजको भवनमा शुक्रबार चैत महिनादेखि पोखरा आएकामध्ये ३ महिलासहित १८ जनाको कोरोना भाइरस टेष्ट गरिएको वडा अध्यक्ष शोभामोहन पौडेलले बताए ।

परिक्षणबाट सबै जनाको नेगेटिभ नतिजा आएको छ । यसअघि पोखरा १९ ले पोखरा १६ संगको सहकार्यमा केही व्यक्तिको आरडीटी टेष्ट गरेको थियो । शुक्रबार भएको आरडीटी टेष्ट गर्नेमध्ये पोखरा १९ का ११ जना, पोखरा १६ का ६ जना र पोखरा २५ का एक जनाको उक्त टेष्ट गरिएको हो ।

पोखरा १९ मा हालसम्म ४१ जनाको आरडीटी टेष्ट गर्दा सबैमा नेगेटिभ नतिजा आएको छ । वडाले पहिलो चरणमा ८ सय ५७ जनालाई राहत वितरण गरेको अध्यक्ष पौडेलले जनाए । दोस्रो चरणमा पुनः ५ सय हाराहारीलाई राहत सामग्री वितरण गर्नुपर्ने अवस्था रहेको उनले जनाए ।

गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले ज्यालादारी मजदुर धेरै ठाउँमा समस्यामा रहेकाले उनीहरुको राम्रो रेखदेख स्थानिय तहले गर्नुपर्र्नेे बताए । पोखरा १९ को राहत वितरण तथा कोरोना भाइरससम्बन्धी रोकथामका लागि के कस्तो काम कारवाही भएको छ भनी शुक्रबार अवलोकन गर्दै पोखरा १९ मा कुनै मजदुर खान नपाएर बस्नुपर्ने अबस्था नराख्न वडा अध्यक्ष पौडेललाई आग्रह गरे ।

मजदुलाई उचित राहत पनि नदिने अनि आफ्नो गन्तव्य जान अबरोध गर्न पनि नहुने उनले जनाए । उनीहरुलाई कोरोना भाइरससम्बन्धी सजग हुँदै व्यबस्थापन गर्नुपर्ने सांसद बरालको जोड थियो ।