कोरोना बिरुद्धको लडाईमा ओम विकास तथा देउकुमारी प्रतिष्ठानको सहयोग

मुस्ताङको ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले आईतबार गण्डकी प्रदेशबाट संञ्चालित कोरोना राहत कोषलाई सहयोग स्वरुप ५० हजार रुपैया सहयोग गरेको छ । स्वर्गिय ओम विकास तथा देउकुमारी गौचनको १४ औ पुण्यस्मृति दिवसको अवसरमा संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी सवी शेरचनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पोखरामा उक्त वापत रकमको भौचरसहितको नगद चेक हस्तान्तरण गरिन् ।

संस्थाकी अध्यक्ष शेरचनले यसअघि प्रतिष्ठानले जिल्लाको आर्थिक ,सामाजिक र शैक्षिक विकासमा काम गर्दै आईरहेको जानकारी दिईन् । अहिले विश्व व्यापी महामारीको रुपमा उत्पन्न कोभिड–१९ कोरोना भाईरसको मानवीय संकट आईपरेको उल्लेख गर्दै संस्थाकी अध्यक्ष शेरचनले प्रदेश सरकारले चालेको कोरोना बिरुद्धको लडाईमा संस्थाले सानो सहयोग मात्र गर्न खोजेको बताईन् । सो अवसरमा मुख्यमन्त्री गुरुङले सहयोग वापत धन्यवाद व्यक्त गरे ।

संस्थाकी संस्थापक अध्यक्ष सवी शेरचनले गण्डकी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नगद चेक हस्तान्तरण गर्दै।

सहयोग हस्तान्तरण गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन ,मुख्यमन्त्रीका राजनितिक सल्लाहाकार गोविन्द नेपाली , प्रतिस्ठानका सल्लाहाकार जीवनकुमार शेरचन, तमु हस्तकला संञ्चालक एवं सामाजिक अभियान्ता पवित्रा गुरुङ,एक्यापका सन्तोष शेरचन ,हिमश्री फुड्सका लक्ष्मण गौचन लगायतको उपस्थिती थियो ।

यस्तै, स्मृति दिवसकै अवसरमा मुस्ताङको थासाङ–२ कोवाङमा पनि स्वर्गिय गौचन दम्पतीको शालिकमा माल्यार्पण तथा मौनधारण कार्यक्रमको आयोजना भएको संस्थाकी अध्यक्ष शेरचनले जानकारी दिईन् । कार्यक्रममा थासाङ–२ का स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो । मुस्ताङमा भएको स्मृति सभाको संञ्चालन संस्थाका सहसचिव गौतम शेरचनले गरेका थिए ।