पोखरा ३१ मा राहत वितरण

पोखरा ३१ बेगनासतालमा शनिबार १ सय २५ जना बिपन्न र दैनिक ज्यालादरीमा काम गर्ने मजदुरलार्इ राहत बितरण गरिएको छ ।

वडाले केही दिनअघि पनि वडाका विभिन्न ठाउँमा ८ वटा क्लष्टर बनाएर राहत वितरण गरेको वडाध्यक्ष कमल थापाले जानकारी दिए । उनले वडा सदस्य, टोल विकास समिति, सबै राजनीति पार्टीका प्रतिनिधि र स्थानीय अगुवाहरुसँग समन्वय गरी राहत पाउनेको नाम संकलन गरेको जनाए । यसअघिको सिफारिसमा १ सय २० जना मजदुर छुटेकाले ती छुटेका मजदुरलाई पनि यथाशीघ्र राहत दिइने प्रतिवद्धता गरे ।

वडाको बेगनासमा क्वारेनटाइनका लागि ३ विद्यालयलाई तयारी अवस्थामा राखिएको छ। अहिलेसम्म कोही पनि क्वारेनटाइनमा बस्न नपरेको थापा बताउँछन् । कोरोना भाइरसको महामारीपछि बेगनासमा विदेशबाट १६ जना भित्रिएका छन्। उनीहरू भारत, कोरिया, हङकङ, साउदी अरब लगायतका देशबाट आएका हुन्।

उनीहरुलाई होम क्वारेनटाइनमा राखिएको र उनीहरुको अवधि २१ दिन पुगिसकेको थापाले जानकारी दिए ।