उपल्लो मुस्ताङका गुम्बा स्कुलको पोखरामा स्वास्थ्य परीक्षण

लक डाउनका कारण पोखरामा अलपत्र मुस्ताङका ४ वटा घुम्ती गुम्बा स्कुलका वालवालिकालाई सोमबार र मंगलबार कोरोना भाईरस ( कोभिड–१९ ) को स्वास्थ्य परीक्षण गरिएको छ । सोही क्षेत्रका गण्डकी प्रदेश सांसद ईन्द्रधारा बिष्टको पहलमा ४ गुम्बा स्कुल करिव २ सय वालवालिकाको कोरोना परीक्षण भएको हो ।
लोमान्थाङ–३ को पाल एवं नामग्याल गुम्बा स्कुलका १ सय २० ,लोमान्थाङ–२ को नाम्डोललिङ गुम्बा स्कुलका ४० र लोघेकर दामोदरकुण्ड–१ चराङ गुम्बाका ४० जना वालवालिका तथा शिक्षक र कर्मचारीको स्वास्थ्य परीक्षण भएको उपल्लो मुस्ताङका स्वास्थ्यकर्मी कुङ्गा छेसाङले जानकारी दिए । वालवालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्यकर्मी कुङ्गा छेसाङ र कच्युङ गुरुङले गरेकी थिईन् । उनीहरुका अनुसार वालवालिकाको ज्वरो ,श्वाश प्रश्वास र ब्लड प्रेसर लगायतको परीक्षण गरिएको छ ।
स्वास्थ्य परीक्षण अघि वालवालिकालाई विश्वमै माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसको जानकारी तथा यसमा सुरक्षित रहन सकिने उपायका बारेमा वालवालिकालाई जानकारी गराईएको सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए । बर्सेनि उपल्लो मुस्ताङको सामुदायिक तथा गुम्बा स्कुलका वालवालिकाहरु घुम्ती कक्षाका रुपमा पोखरा झर्ने गर्छन् । बर्खायामको यार्तुङ पर्व सुरुआत हुनसाथ उपल्लो मुस्ताङमा हिउदयाम सुरु हुन्छ ।

चालु बर्षको शैक्षिक सत्रको परीक्षा सकेर नया शैक्षिक सत्रको पढाई सुरु गर्न असोज महिनामा पोखरामा झरेका घुम्ती बिद्यालय चैत्रको दोश्रो हप्ता गाउ फर्कन्छ । यसपटक घुम्ती कक्षाको पढाई सकेर घर फर्कने तयारी गरेका गुम्बा स्कुलहरु लक डाउनले पोखरामा रोकिएका हुन् । घुम्तीमा झरेका गुम्बा स्कुलहरु पोखराको हेम्जा,लेकसाईडको खपौदी र पोखराको चाउथेमा घुम्ती स्कुलको रुपमा संञ्चालनमा थियो । उनीहरु पोखरामा लक डाउन खुल्ने प्रतिक्षामा बसेका छन् ।
फोटो क्याप्सन ः
पोखरामा मुस्ताङका घुम्ती गुम्बा स्कुललाई स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी