पोखरा महानगरपालिका वडा नं २८ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ । लकडाउनका कारण प्रभावित विपन्न १ सय ९२ परिवारलाई वडाले मंगलबार राहत वितरण गरेको हो ।
महानगरपालिकाबाट प्राप्त राहत प्याकेज कालिका सामुदायिक भवनमा र माझठाना हेल्थपोष्ट गरी २ स्थानबाट जनप्रतिनिधि एवं वडाका राजनितिक दलका प्रतिनिधिको रोहवरमा वितरण गरिएको हो ।
वडाध्यक्ष निर्मल दियालीले २ थरी प्याकेज बनाएर राहत बाँडिएको जानकारी दिए । दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवारलाई राहत दिइएको उनले उल्लेख गरे । वडाध्यक्ष दियालीले राहत वितरणमा छुट भएका अति विपन्न परिवारलाई वडामा सम्पर्क गर्न आग्रह गर्दै आगामी दिनमा राहत उपलब्ध गराइने प्रतिवद्धता गरे ।
पोखरा २८ मा ६ सय २० परिवारको नाम राहतका लागि संकलन भएकोमा महानगरको मापदण्डमा १ सय ९२ परिवार परेका हुन् । ३ जनासम्म सदस्य रहेका १ सय १४ परिवारलाई हाफ प्याकेज र ४ जनामाथि सदस्य भएका ७८ परिवारलाई पूरा प्याकेज राहत दिइएको छ ।
पूरा प्याकेजमा १ बोरा चामल, २ किलो दाल, २ किलो चना, २ पोका तेल र नून दिइन्छ ।






