केही दिन पहिले मृत्यु भएका कांग्रेस नेताको मलामी जाने भन्दै नक्कली पास बनाएर पोखराबाट स्याङ्जाको अर्जुनचौपारी जानेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ ।
मलामीको पास बनाएर फेसबुकमा प्रचार गरी यात्रु जुटाएर दोब्बर भाडा लिएको भेटिएको छ । शनिबार गएका उनीहरुलाई आइतबारदेखि क्वारेन्टाइनमा राखिएको हो । वडा नं. ५ काउरे आरुचौरका १८ जनालाई जन मावि रापाकोटको क्वारेन्टाइनमा राखिएको छ ।
आरुचौर घर भई पोखरा बस्ने भरत पोखरेल र प्रताप पौडेलले आफ्नो सम्पर्क नम्बरसहित यात्रु जम्मा गरेका थिए । पोखरेल नेविसंघका केन्द्रीय सदस्य हुन् भने पौडेल पनि नेविसंघकै नेता हुन् ।

भिरकोट गाउँपालिका घर भइएका कांग्रेस नेता सूर्यप्रसाद रेग्मीको ७ दिनअघि निधन भएको थियो । रेग्मीको मलामी जान भन िजिल्ला प्रसाशन कार्यालय कास्कीलाई झुटो ब्यहोरा दिएर उनीहरुले अर्जुनचौपारीका लागि ग १ ख ९२४७ नम्बरको गाडीको पास लिएका थिए । गाडीमा ३३ जना यात्रु थिए ।
शनिबार साँझ अर्जुनचौपारी तल्लोबजार पुगेको बसलाई अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चीनमाया गुरुङ र प्रहरीले रोकेका थिए । गाउपालिका अध्यक्षले छोड्न निर्देशन दिएपछि बसमा सवार १९ जनालाई छोडेर र बस नियन्त्रणमा लिइएको थियो ।

यसरी बसमा आएकाहरु बाहिर हिडेपछि बजारमा त्रास बढेको थियो । सर्वसाधारणको दबाबपछि प्रहरी प्रशासनको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो ।




