मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा राहत वितरण सुरु ,पहिलो चरणमा ५१ ले पाए राहत

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले अतिविपन्न,असहाय तथा दैनिक ज्याला मजदुरी गरेर घर गुजारा चलाउनेका लागि आईतबार देखि घरदैलोमै पुगेर राहत वितरण गर्न सुरु गरेको छ । पालिकाले पहिलो चरणमा वारागुङ–४ को कागबेनी ,तिरी र पाक्लिङ गरी ३ गाउका ५१ घरधुरीलाई राहत वितरण गरेको हो ।


विश्व व्यापी नराम्ररी फैलिएको नोवल कोरोना भाईरस (कोभिड–१९) कारण सरकारले १२ दिन अघि मुलुक लक डाउन गरेको थियो । लक डाउनको असरले समस्यामा परेका पालिका भित्रका मजदुरको समस्या सुल्झाउन स्थानीय जनप्रतिनिधि राहत प्याकेज लिएर घरदैलोमै पुगेको वारागुङ मुक्तिक्षेत्रका सूचना अधिकारी सूर्य तिमिल्सिनाले जानकारी दिए ।


कोरोना रोकथामका लागि सरकारले गराएको लक डाउनले आहत बनेका अतिविपन्न,असहाय तथा दैनिक ज्याला मजदुरी गर्नेलाई राहत उपलब्ध गराउन गण्डकी प्रदेश सरकारले स्थानीय तहलाई ५ लाख दिएको थियो । पालिका भित्रको मजदुरको संख्या हेरेर प्रदेशको उक्त बजेट माथि आवश्यक बजेट थपिने गरी राहत वितरण गर्ने योजना रहेको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । उनका अनुसार लक डाउनबाट पीडित बनेका परिवारलाई खाद्यान्न ,चाउचाउ ,तेल,नुन,दाल लगायतका सामाग्री वितरण गरिएको हो ।

राहत वितरणमा अध्यक्ष फेञ्चोक छेप्तेन गुरु‘ ,उपाध्यक्ष ढिकी गुरुङ र वडाध्यक्ष तेन्जिन नाम्गेल गुरुङ लगायत पालिकाका कर्मचारी घरदैलोमा पुगेका थिए । उपाध्यक्ष डिकी गुरुङले विपन्न परिवार र मजुदरको संख्या पहिचान गरी ४ समुह बनाएर राहत वितरण भएको सुनाईन् । उनले पालिकाको ५ वडा मध्ये वडा–४ र ५ को नामावली संकलन भएको र १,२,३ को नामावली आउन बाकी रहेको जानकारी दिईन् ।

पालिकाले सोमबार वडा –५ मा राहत वितरण गर्ने जनाईएको छ ।
वारागुङ–४ मा राहत वितरण गर्दै जनप्रतिनिधि । तस्विर ःसूर्य तिमिल्सिना ।