विश्वमै अहिले नोवल कोरोना भाईरसको माहामारी चलेको छ । नेपालमा पनि कोरोनाको संक्रमण बढिरहेको छ । संघीय तथा प्रादेशिक सरकारले यसको रोकथाम तथा नियन्त्रण लगायतका बिषयमा विभिन्न कार्ययोजनासहित स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । संम्भावित नोवल कोरोना भाईरस ( कोभिड–१९ ) को संम्भावित संक्रमणबाट हुनसक्ने जोखिम न्युनिकरण गर्न आईतबार बसेको जिल्ला कमाण्ड पोष्टले ११ बुदे निर्णय गरेको छ ।
कमाण्ड पोष्टका संयोजक एवं सिडिओ वेदप्रकास अर्यालको अध्यक्षतामा बसेको बैठकले संम्भावित कोरोना भाईरस सक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाईने सावधानी ,यसको व्यवस्थापन र आपुर्ति व्यस्थापन सहज बनाउने लगायतका ११ बुदे निर्णय गरेको हो ।
बैठकले यसअघि गरेका निर्णयहरुको कार्यान्वयन सन्तोषजनक भएको जनाएको छ ।गृहको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा र गण्डकी प्रदेशले गरेको निर्णयलाई सवै निकायले अवलम्वन गर्ने गरी कार्यान्वयनमा ल्याईने , सिडिओको संयोजकत्वमा ( कोभिड–१९) संकट व्यवस्थापन समिति गठन गर्ने ,जिल्ला अस्पताल जोमसोमले शिघ्र बिरामी उद्दार टोली ( पीटिआर) गठन गर्ने ,अस्पतालमा रहेको एम्बुलेन्स चालकलाई तैयारी अवस्थामा राख्ने , ५ वटै पालिकामा कोभिड–१९ संकट व्यवस्थापन टोली र शिघ्र बिरामी उद्दार टोली स्थापना गर्ने ,खाद्य वस्तुको आपूर्ति तथा नियमित बिक्री वितरण गर्न सरोकारवाला निकायलाई अनुरोध गर्ने, सबै पालिकामा राहत वितरण गर्दा आवश्यकता र औचित्यताको आधारमा समानुपातिक र सुन्तुलित रुपमा वितरण गर्ने व्यवस्था मिलाउने ,विभिन्न सरोकारवाला संघ,संस्था र निकायबाट प्राप्त औषधि तथा उपकरणको एकिकृत विवरण तयार गरी दैनिक राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र तथा आपतकालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रमा पठाउनु पर्ने ,जिग्मे फाउन्डेसबाट प्राप्त सामाग्री अस्पताल ,स्वास्थ्य केन्द्र ,सुरक्षा निकायमा पठाउने र स्थानीय तहमा कार्यरत तथा अन्य निकायमा रहेका स्वास्थ्यकर्मीको संम्पर्क नम्बर र उनीहरुको विवरण कमाण्ड पोष्टलाई पठाउनु पर्ने लगायतको निर्णय गरेको छ ।
बैठकपछि कमाण्ड पोष्टका सयोजक एवं सिडिओ वेदप्रकास अर्यालले संघ तथा प्रदेश सरकारले गरेका निर्णयलाई कार्यान्वयन गराउन स्थानीय तहलाई निर्देशन दिईएको बताए । उनले संम्भावित कोरोना जोखिमबाट हुनसक्ने खतरालाई मध्यनजर गर्दै सोही अनुसार तैयारी गर्ने योजनाका साथ कमाण्ड पोष्ट अघि बढेको जानकारी दिए ।






