काठमाडौं प्रेसको सामग्री हटाउनेलाई कारवाही गर्न प्रेस काउन्सिलको माग

प्रेस काउन्सिल नेपालले हालै काठमाडौँ प्रेस अनलाइन न्यूज पोर्टलको निर्माणकर्ता÷सेवा प्रदायकबाट नै अनलाइन सञ्चारमाध्यममा प्रवेश गरी कन्टेन्टसमेत हटाइएकोमा कारवाही माग गरेको छ ।

कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले यसमा काउन्सिलको ध्यानाकर्षण हुनुका साथै उक्त कार्य स्वतन्त्र प्रेसको मूल मर्म र भावना विपरीत भएको हुँदा सोकोे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र आइन्दा यस प्रवृत्तिका प्रेस स्वतन्त्रताविरोधी हस्तक्षेप कहीँकतैबाट हुन नदिने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष खातामा काउन्सिलका अध्यक्षको ७ दिनको तलब, अधिकृत कर्मचारीको ५ दिनको तलब र सहायकस्तर कर्मचारी सबैको ३ दिनको तलब बराबरको रकम जम्मा गर्ने निर्णय भएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी भयो ।

काउन्सिलले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सबै प्रकारका सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना सामग्री र कार्यक्रम प्रकाशन÷प्रसारण गर्न स्वास्थ्य मन्त्रालय, संघ÷प्रदेश र स्थानीय सरकारबाट आवश्यक सहकार्य र बजेट व्यवस्था हुनुपर्नेसमेत जनाएको छ ।