उपचारमा आनाकानी, रिपोर्ट आउँछ नेगेटिभ !

- गणेशटोलको नमुना र बागलुङका बच्चामा कोरोना देखिएन

पोखराको गणेशटोलबाट लिएको नमुना र बागलुङको ताराखोलाका ६ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएन । स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोना परीक्षणको नतिजा सार्वजनिक गरेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार साँझ परीक्षण विवरण सार्वजनिक गरेको हो ।

कोरोनाको आशंकामा ताराखोला १ का बालक होमराज कँडेललाई २० घन्टा अस्पतालको चौरमा राखिएको थियो । उनलाई सामान्य ज्वरो र इन्फेक्सनमात्र देखिएको छ । उनको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ । अवस्था सामान्य छ ।

गण्डकीमा हालसम्म ६१ नमुना संकलन भएकोमा ४३ मा संक्रमण भेटिएन भने २ जनामा संक्रमण भेटिएको छ । धौलागिरी अञ्चल अस्पतालमा उपचाररत दुवै संक्रमितको अवस्था सामान्य छ । १३ वटाको नतिजा जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट आउन बाँकी छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिले नै रहेको १ र हालै संघीय सरकारले पठाएको १ गरी २ कोरोना जाँच गर्ने मेसिन छन् । दुवैले शुक्रबार १५ नमुना परीक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नयाँ मेसिन सञ्चालन गर्दा सुरुका १० नमुना पुनपरीक्षणका लागि पठाउनुपर्ने भएकाले काठमाठौं पठाइएको स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जनाए । प्रदेशको विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेश सरकार कोभिड १९ परीक्षणमा पूर्ण रुपमा तयार छ ।’