हिमालपारीको जिल्ला मुस्ताङमा कोरोना भाईरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न जिल्ला स्थित सुरक्षा निकायको टोलीले क्लोरीन छर्किएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको पहलमा नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शुक्रबार भाईरस तथा ब्याकेटेरिया लगायतका जिवाणु नष्ट गर्न डिसईन्फेक्सन क्लोरीन झोल औषधि छर्किएका हुन् ।
गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली ,सिडिओ वेदप्रकास अर्याल लगायतको रोहबारमा सुरक्षा टोलीले घरपझोङ ३ र ४ वडामा रहेको २० शैयाको क्वारेन्टाईन ,जिल्ला प्रशासन कार्यालय, अस्पताल ,कारागार,विमानस्थल र अन्य संम्वेदनशिल स्थानमा क्लोरीन झोल औषधि छर्किएको मुस्ताङका सिडिओ वेदप्रकास अर्यालले जानकारी दिए । उनले क्लोरीन औषधि सरोकारवाला निकाय संग झिकाईएको र अन्य स्थानमा समेत क्लोरीन खोजेर छर्किने योजना रहेको बताए ।
यसअघि घरपझोङ ३ पुथाङ गाउ समाज ,घरपझोङ–२ मार्फा र थासाङ–३ घासाका गाउ समाजले समेत भाईरस तथा ब्याक्टेरीया नष्ट गर्न डिसईन्फेक्सन छर्किएका थिए ।
मुस्ताङका गाउ गाउमा क्वारेन्टाईन
चिनको वुहान सहरबाट सुरु भएको नोवल कोरोना भाईरस अहिले विश्वका २ सय बढीमा फैलिएको छ । नेपालमा ६ जना कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो समय मुस्ताङ जिल्लामा समेत कोरोनाको त्रास बढिरहेको छ । देश तथा विदेशबाट आउने मुस्ताङीहरु लुकिछिपी जिल्ला आउने गरेको पत्तो पाएपछि मुस्ताङबासी सचेत बन्न थालेका छन् । जिल्ला फर्किने मुस्ताङीहरु खुल्ला रुपमा हिडडुल गर्दा कोरोनाको जोखिम निम्तन सक्ने भन्दै अहिले गाउ गाउमा क्वारेन्टाईन स्थापना गर्न थालेका छन् । जिल्लाका स्थानीय तह र गाउ समाजले धमाधम क्वारेन्टाईन निर्माण गरेका हुन् ,पालिकाहरुले आफ्नै प्रकारले क्वारेन्टाई स्थापना गरेका छन् भने गाउहरुले पनि स्वतःस्फुर्त रुपमा क्वारेन्टाईन निर्माण गर्न जुटेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।
लोघेकर–३को घीलिङ, वारागुङ मुक्तिक्षेत्रको ताङ्वे ,जोमसोम पुथाङ एअरपोर्ट ,घरपझो–३ स्याङ ,घरपझोङ–५ ठिनी ,थासाङ –२ कोवाङ र थासाङ ५ कुञ्जो लगायतका गाउहरुमा २ देखि १० बेड सम्मको क्वारेन्टाईन निर्माण भएको छ ।
मुस्ताङमा स्थानीय तह र गाउ समाज लगायतले गरेर करिव सय बेडको क्वारेन्टाईन निर्माण भएको स्वास्थ्य प्रमुख भण्डारीले बताए । भण्डारीका अनुसार जिल्ला बाहिर र विदेशबाट मुस्ताङ आएका २ वटा क्वारेन्टाईनमा गरी ९ जना व्यक्ति रहेको स्थानीय प्रशासनले जानकारी दियो ।
फोटो क्याप्सन ः
मुस्ताङ प्रशासनको पहलमा क्लोरीन छर्किदै सुरक्षाकर्मी




