उपल्लो मुस्ताङ स्थित लोमान्थाङ–५ का युवाले बुधबार २ वटा सरकारी गाडी रोकेका छन् । लक डाउन समयमा सरकारी गाडी दुरुपयोग गरी चलाएको भन्दै युवाहरुले कालिगण्डकी करिडोर ,बेनी÷जोमसोम÷कोरला सडक आयोजनाको २ वटा सरकारी गाडीलाई लोमान्थाङबाटै फर्काएका हुन् ।
बुधबार करिडोर सडकको उक्त २ वटा गाडी म्याग्दीको तातोपानीबाट उपल्लो मुस्ताङको उत्तरी कोरलानाका हेर्न लोमान्थाङ पुगेको थियो । युवाहरुले करिडोरको सरकारी गाडी लक डाउनको अवज्ञा गरी चलाएको भन्दै लोमान्थाङबाट माथि जान रोक लगाए । करिडोरको गाडी माथि आउदै गरेको सूचना पाएपछि युवाहरुको उक्त गाडीलाई बजारक्षेत्रको ढोक्पोल्हो खोलाबाटै फर्काएको लोमान्थाङका स्थानीय युवा सोनाम ढुक्के गुरुङले जानकारी दिए ।
उनले कोरोनोको संक्रमणकालिन अवस्था र मुलुक पुरै लक डाउन भएकाले गाडी जान रोक लगाएको बताए । विश्व व्यापी महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न सरकारले एकसाता अघि लक डाउन गरेको हो ।
लक डाउन अवधिमा मुस्ताङमा सार्वजनिक ,निजी र सरकारी गाडी चल्न स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले अतिआवश्यकीय सेवा बाहेक कुनै पनि गाडी बिना प्रयोजन चलाउन छुट नभएको बताए ।
लोमान्थाङ–५ का वडाअध्यक्ष नवाङकुङ्गा लामाले सरकारी गाडी बैमौसमको अवस्थामा सडक निरीक्षण गर्न जानु लकडाउनको ठाडै लक डाउन उलंघन भएको बताए । उनले आफु पोखरामा निरन्तर गाउको संम्पर्कमा रहिरहेको र कोरोना महामारी फैलिएको यसप्रकारको रोगबाट सचेत रहन युवालाई टेलिफोन मार्फत सुझाउने गरेको जानकारी दिए ।
अहिले कोरला सडक सबै मजदुर लक डाउनका कारण बिदामा छन् । लक डाउनको फाईदा लिदै सडक निरीक्षणको नाममा आयोजनाको टोली र अन्य गैर व्यक्ति कोरला जान हिडेको स्थानीयको बुझाई छ । गाडीमा ७ जना व्यक्ति थिए । आयोजना प्रमुख अशोक तिवारी ,सडकका ईन्जिनीयर लगायत थिए ।
क्याप्सन : लक डाउनका बेला गाडी चलाएको भन्दै लोमान्थाङका युवाले रोक सरकारी गाडी । तस्विर ःसोनामे ढक्के गुरुङ ।




