अब पोखराबाटै कोरोना जाँच

आजबाट पोखरामै कोरोना जाँच हुने भएको छ । संघीय सरकारले मंगलबार बिहान प्राविधिक टोलीसहित पीसीआर मेसिन पोखरा ल्याएपछि जाँच सम्भव भएको हो ।

यसअघि अन्य प्रदेशमा पठाइए पनि गण्डकीमा कोरोना जाँच मेसिन पठाइएको थिएन । काठमाडौमा राखिएको मेसिन पोखरा ल्याइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले बताए ।

प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन पनि राख्ने सहमति भएको प्रदेश निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए ।

मेसिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आएको छ । अब गण्डकी प्रदेशका सम्भावित कोरोना संक्रमितको परीक्षण पोखरामा नै हुने भएको छ ।

विदेशबाट गण्डकीमा आउजाउ गर्ने धेरै भएकाले पनि यहाँ मेसिन जरुरी भएको उनको भनाइ छ । यो मेसिनबाट दैनिक १५ वटासम्म परीक्षण गर्न सकिन्छ।