जर्मनीका एक मन्त्रीले आत्महत्या गरेका छन् । कोरोना भाइरसका कारण सिर्जित आर्थिक संकटबीच जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले शनिबार आत्महत्याको बाटो रोजेका हुन् ।
मन्त्री स्याफरको शव जर्मनीको फ्र्याङफर्ट र मान्जबीचमा पर्ने होचेमको तीव्र गतिमा चल्ने रेलको लिकमा शनिबार भेटिएको थियो । कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले शव रेलको लिकमा देखे पनि उनी अर्थमन्त्री स्याफर हुन् भन्ने सुरुमा पहिचान गर्न सकेनन् ।
मृत्यु हुनुअघि उनले आत्महत्या नोटसमेत लेखेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएको जर्मन दैनिक ‘फ्र्याङकफर्टर अल्जिमाइन’ले उल्लेख गरेको छ । अर्थमन्त्री स्याफरले किन आत्महत्याको बाटो रोजे भन्ने कुरा त्यसमा उल्लेख गरेको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।
मन्त्री स्याफर जर्मन चान्सलर एन्जिला मर्केलको मध्य–दक्षिणपन्थी दल क्रिस्चियन डेमोक्र्याटिक पार्टीमा दुई दशकदेखि सक्रिय थिए भने १० वर्षयता उक्त राज्यको अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।




