विपन्नलाई खाद्यान्नका लागि विशेष पहल

पोखरा वडा नंं. १७ ले कोरोना भाइरसको सन्त्रासको मुकाबिला गर्न विभिन्न निर्णय गरेको छ । आइतबार भएको कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणसम्बन्धी वडास्तरीय समन्वय समिति तथा जनप्रतिनिधिको संयुक्त बैठकले वडावासीलाई लकडाउन पूर्ण पालना गर्दै अत्यावश्यक वस्तु र सेवाको प्रबन्ध मिलाइएको जनाएको छ ।

वडाले दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने, अपांग, अनाथहरुलाई खाद्यान्न आपूर्तिका लागि विशेष पहल गर्ने निर्णय गरेको छ । उनीहरुसम्म संघीय सरकार, प्रदेश, महानगरले गर्ने सहयोग आइपुग्ने समय लाग्ने र पर्याप्त हुने सम्भावना पनि कम भएकाले स्थानीय स्तरमै सहयोगको पहल गर्न लागिएको वडाध्यक्ष तीर्थराज अधिकारीले बताए । उनले भने, ‘वडा नागरिककोसबैभन्दा नजिकको सरकार हो । कोही वडावासी भोकै नहून् भनी पहल थालेका छौं ।’

टोल टोलमा फोकल पर्सन तोकी सहयोग गर्नुपर्नेहरुको पहिचान गर्ने बैठकले निर्णय गरेको छ । संकटमा खाद्यान्नकै अभावले जीवन धान्न कठिन भएकाहरुका लागि वडाले सहयोग गर्ने र थप सहयोगका लागि स्थानीय विपद् व्यवस्थापन समिति, समाजसेवी, उद्योगी, व्यापारी र अन्य सहयोगदातालाई आग्रह गरिने कार्यपालिका सदस्य राधिकाकुमारी शाही योगीले जानकारी दिइन् ।

वडाले हालै विदेशबाट वडामा आएकाहरुको विवरण संकलन गरी महानगरमा पठाइसकेको छ । थप विवरण प्राप्त भए महानगरलाई तत्काल जानकारी गराइने भएको छ । हालै विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने र अनुगमनका लागि छोरेपाटन चौकीलाई आग्रह गरिने निर्णय भएको वडा सदस्य बैकुण्ठ भण्डारीले बताए । वडाको बैठकले उद्योग, व्यवसाय रहेका घरका धनीहरु र कर्मचारी, मजदुरलाई घरभाडा, जग्गाभाडामा छुट दिन आग्रह गरेको छ ।