सरकारले हाल विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड–१९ ) नियन्त्रण गर्ने उद्देश्यले मुलुकभर एकसाताका लागि लक डाउन गरेको छ । पछिल्लो समय कोरोनाको संम्भावित त्रास बढेपछि देश बिदेशका प्रवासी नेपालीहरु गृह गाउ फर्किएका छन् । कोरोनाकै कारण अझै गाउ फर्किने क्रम रोकिएको छैन ।
सरकारले लक डाउन गरेपनि गाउ भित्रिने नयाँ अनुहार नरोकिएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र वडा नम्बर ४ र ५ ले गाउनै पस्न नपाईने गरी नियम बनाएका छन् । सरकारी लक डाउन भएपनि गाउमा अझै नयाँ अनुहारका व्यक्ति प्रबेश गर्ने क्रम नरोकिएकाले गाउनै लक गर्नु परेको वडा नम्बर –४ का वडा सदस्य नर्वु गुरुङले जानकारी दिए ।
बुधबार कागबेनीको काठेपुलमा सूचना टाँसेर तिरी गाउ पस्न मनाई गरिएको उनले बताए । तिरी गाउमा स्थानीयको १२ र जिल्ला बाहिरका ज्याला मजदुरी गर्नेका ११ गरी कुल २३ घर छन् । सनसनीपूर्ण कोरोना भाईरसको जोखिमबाट बच्न कडा नियम ल्याउनु परेको वडासदस्य गुरुङले सुनाए ।
यस्तै, सोही पालिकाको वडा –५ मा पनि गाउ लक गरिएको छ । वडाअध्यक्ष राप्के गुरुङले बिद्युत ,संञ्चार, खाद्यान्न लगायतका अतिआवश्यकम सेवा बाहेक कुनै पनि व्यक्ति गाउ छिर्न नपाईने वडाले निर्णय गरेको बताए ।‘सरकारले जतिसमय लक डाउन गर्छ हामी त्यतिनै समय गाउ लक गर्नेछौ ।’ उनले भने । उनका अनुसार वडाले गाउका मानिस बाहिर जान नदिने र अरुलाई पस्न नदिने गरी गाउ शिल गरेको छ ।
वारागुङ–५ को धाकार्जुङ र फल्याक गरी करिव ७० घरधुरी छ । कोरोनाबाट अब सचेत रहन जरुरी भएकाले यस्तो प्रावधान ल्याएको उनले खुलाए । सोही वडाको शान्ता गाउ भने डोल्पा र मुस्ताङको सीमाक्षेत्रमा छ । यो गाउ वडा देखि टाढा भएकाले अर्गानिक क्वारेन्टाईन भएको वडा अध्यक्ष गुरुङले उल्लेख गरे । शान्ता गाउ वडाको घना बस्ती देखि १० किलोमिटर पर छ । यस्तै ,कागबेनीमा पनि नया अनुहार प्रबेश गर्न रोक लगाईएको छ ।
फोटो क्याप्सन ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को तिरी गाउ जान प्रबेश निषेध गरिएको सूचना । तस्विर ःसूर्य तिमिल्सिना ।




