चैत्र ११ गते २०७६

ताजा समाचार

चैत्र ११ गते २०७६

कोरोना त्रास ः धमाधम घर फर्किए मुस्ताङी

- कोरोनो भाईरसको त्रासले जिल्ला फर्किएका मुस्ताङीहरु



विश्वभर महामाारीका रुपमा फैलिदै गएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोग संक्रमण रोग देखि भयभीत हुदै जिल्ला बाहिर बस्ने मुस्ताङीहरु गृह जिल्ला फर्कन थालेका छन् । पछिल्लो समय दक्षिणको छिमेकी देश भारतमा समेत यस रोगको महामारी फैलिएकाले महामारीबाट बच्न मुस्ताङीहरु धमाधम काठमान्डौं पोखरा,बुटवल र भेरहवा लगायतका स्थानबाट पूख्यौलीथलो फर्किएका छन् ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका–१ चराङका तेन्जिङ गुरुङ हाल काठमान्डौ स्वम्भु बस्छन् । उनी सोमबार आफना १४ जना गुम्बाका साथीहरु सहित मुस्ताङ फर्किएको बताए । उनले पछिल्लो समय कोरोना माहामारी रोगको आतंक बढेपछि सुरक्षित रहन जिल्ला र्फिर्कएको सुनाए । उनले कोरोना आतंकले राजधानी खाली हुदै गएको स्मरण गर्दै कोरोनाबाट बच्न मुस्ताङ जिल्ला सेल्फ क्वारेन्टाईन भएको उल्लेख गरे । यस्तै ,वारागुङ मुक्तिक्षेत्र गाउपालिका–२ पुटाककी झेप्याक ठकुरी पनि मुस्ताङी फर्किएकी छिन् । उनी पनि कोरोना संक्रमणबाट बच्न जिल्ला फर्किएको सुनाए । उनले छिमेकी देश समेत कोरोना प्रभावित भएको उल्लेख गर्दै नेपाल पनि उच्च जोखिममा रहेकाले क्वारेन्टाईनका लागि जिल्ला फर्किएको बताईन् ।
म्याग्दी र मुस्ताङको सीमाक्षेत्र थासाङ गाउपालिका –३ घासा स्थित प्रहरी चौकीले सोमबार दिएको जानकारी अनुसार मुक्तिनाथ मन्दिर र कागबेनी पिण्डस्थल लकडाउन भएपछि मुस्ताङमा २३ वटा सवारी साधन भित्रिएको जनाएको छ । जसमा अधिकांश मुस्ताङी भएको घासा प्रहरी चौकीका ईञ्चार्ज नीमप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार लकडाउनपछि सोमबार बिहानसम्ममा लामोदुरीको बस ४ ,जिप ८ र निर्मार्ण सामाग्री र खाद्यान्न बोकेको १३ वटा ट्रक र ट््याक्टर भित्रिएको बताए । उनले मुस्ताङीहरु अझै फर्किने क्रम नरोकिएको उल्लेख गरे
मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध गर्न आएका दर्जनौ तिर्थालु सवार सवारी साधनलाई आईताबार साझ देखि जानकारी गराई सीमाक्षेत्रबाटै फिर्ता पठाईएको ईञ्चार्ज तिमिल्सिनाको भनाई छ । ‘हामीले मुक्तिनाथ मन्दिर र कागबेनी पिण्ड स्थल प्रबेश बन्द भएको सूचना तिर्थालुलाई जानकारी गराएका छौं ,’उनले भने,‘ केही तिर्थालुले अटेर गरी छिरेका छन्, तिर्थालु सवार गाडी रोक्ने काम म्याग्दी र मुस्ताङ चेकपोष्टले गरेको छ ।’
बर्सेनि चैते दशै औशी तिथि आसपास मुस्ताङ तिर्थालुले गुल्जार हुने गर्छ । मुक्तिनाथ विकास समितिको आईतबार बसेको कोरोना आकस्मिक बैठकले मुक्तिनाथ र कागबेनी स्थल लकडाउन गरेपछि मुस्ताङ सुनसान बनेको छ । गत बर्ष चैतै दशै औशी नुहाउन १० हजार बढी तिर्थालु मुस्ताङ आएकोमा यसपटक धार्मिक केन्द्र प्रबेश निषेध भएपछि मुक्तिनाथ र कागबेनी पिण्ड स्थल सुनसान बनेको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ धाराले बताए ।यसअघिको चैते दशैको सेरोफेरोमा व्यस्त रहने जोमसोम,कागबेनी र मुक्तिनाथका पर्यटन व्यवसायी फुर्सदिलो बनेका होटल ताजका प्रोपाईटर योगेश शेरचनले जानकारी दिए । उनले पर्यटक तथा तिर्थालु नआएर व्यापार व्यवसाय चौपट भएपनि स्वास्थ्य संम्वेदशिलता महत्वपूर्ण भएकाले कुनै दुखेसो नभएको सुनाए ।


मुक्तिनाथ र कागबेनी धाम लक डाउन भएपछि जोमसोम विमानस्थल र घासा प्रहरी चौकीमा राखिएको कोरोना हेल्थ डेस्क समेत बेकाम बनेको छ । घासा डेल्थ डेस्कले भने घर फर्किएका मुस्ताङीको कारोना परीक्षण गराएको जनाएको छ । २ दिन अघि मात्रै पोखरा–जोमसोम दैनिक १० हवाई उडान गर्दै आईरहेको सुमित एअर र तारा एअरको हवाई सेवा समेत मुक्तिनाथ लक डाउन भएपछि एकसाताका लागि स्थगित भएको छ । सुमितले १ दिन अघि र तारा एअरले मंगलबार देखि हवाई उडान बन्द गरेको तारा एअरका जोमसोम प्रतिनिधि सुचन लालचनले बताए । मुस्ताङ जिल्ला सेल्भ क्वारेन्टाई भएको जानकारी पाएपछि तेश्रो मुलुकका पर्यटक समेत लुकीछिपी मुस्ताङमै रहन थालेको पाईएको छ ।