लकडाउन र कर्फ्यु उस्ताउस्तै हुन त ?

कतिपयले ‘लकडाउन’ लाई कर्फ्यु भन्ने सोचेका छन् । तर ‘लकडाउन’ भनेको कर्फ्यु होइन । यो बेलामा अत्यावश्यक बाहेकका काम गर्न, यात्रा गर्न र गाडी चलाउन रोक लगाइन्छ । मानिसलाई घरबाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालन मात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यु जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यु र ‘लकडाउन’ फरक कुरा हुन् ।

सुरक्षामा चुनौती देखिए कर्फ्यु लगाइन्छ । तर सुरक्षा बाहेकका अरु कारणले मानिसको ओहोरदोहोरमा रोक लगाउनु परे लकडाउन गरिन्छ । लकडाउन सङ्क्रामक रोग ऐन (२०२०) अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यु स्थानीय प्रशासन ऐन अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।

लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर ‘लकडाउन’ को आदेश पालना नगर्नेलाई कानुनी कारबाही हुन्छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यो बेला घरमै बस्नुपर्छ । अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन हुँदैन ।

लकडाउनका बेला के गर्ने, के नगर्ने ? 

– यो बेलामा औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइन्छ ।
– अनुमति प्राप्त गाडी, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी गाडी चलाउन पाइने छैन ।
– सुरक्षा निकायबाट प्रयोग हुने वायु यान र तोकिएका अन्य उडान बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द हुन्छ ।
– स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक     सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी बाहेकलाई बिदा दिइन्छ ।
– औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा   काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउँछ ।
– व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने, अभाव देखाइ मूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।