चैत्र १० गते २०७६

ताजा समाचार

चैत्र १० गते २०७६

लक डाउन मुक्तिनाथ मन्दिर किन खुल्ला ?



विश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड–१९¬) संक्रमण फैलिने अवस्थालाई मध्यनजर गरी मुक्तिनाथ विकास समितिले सोमबार देखि लागु गरेको मुक्तिनाथ मन्दिर लक डाउन निर्णय मन्दिरकै पुजारी र आनी झुमाका कारण उल्लंघन भएको पाईएको छ । आईतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले सोमबार देखि लागु हुने गरी मुक्तिनाथ मन्दिर पूर्ण रुपमा प्रबेश गर्न रोक लगाईने निर्णय गरेको थियो ।तर , उक्त निर्णय पहिलो दिनमै कार्यान्वयनमा नआई फितलो बनेको हो ।
मन्दिरमा कार्यरत पुजारी र आनीझुमाले तिर्थालुलाई सोमबार धमाधम मन्दिर दर्शन गर्न छुट दिएका छन् । अब पूर्ण रुपमा मन्दिर लक डाउन गर्न सीमा नै लक गर्नुपर्ने देखिएको हो ।
मुक्तिनाथ लकडाउन भैईसकेपछि सोमबार दर्शन गर्न भनी मुक्तिनाथ पुगेका पोखराका रमेश गुरुङले मुक्तिनाथको दर्शन गरी फर्किएको बताए । उनले मुक्तिनाथमा पुजारी र आनीझुमा रहेको र उनीहरुकै सहयोगमा आफुहरुले मुक्तिनाथ दर्शन गर्न पाएको जानकारी दिए । उनले मुक्तिनाथ लक डाउन भएको हल्ला जोमसोम आउदा थाहा पाएको तर त्यहा पुग्दा आफुलाई कुनै अप्ठ्यारो नपरेको सुनाए । सोमबार गुरुङसहित करिव ७० जना तिर्थालुले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् ।
यसअघि मुक्तिनाथ विकास समितिले कोरोना संक्रमणलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेको निर्णयहरु समेतका आधारमा भन्दै समितिले मुक्तिनाथ मन्दिर र कागबेनी श्राद्धस्थल अर्को सूचना प्रकाशित नभएसम्ममका लागि प्रबेश गर्न रोक लगाउने निर्णय गरेको थियो । समितिको बैठकले बिज्ञप्ती प्रकाशित गरेर कोरोना रोक्न मुस्ताङका महत्वपूर्ण धार्मिक स्थल अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको थियो । समितिको बिज्ञप्तीमा सरकारले कोरोना रोकथामका लागि विभिन्न योजना सार्वजनिक गरेपनि मुक्तिनाथ आउने तिर्थालु नघटेकाले मन्दिर र श्राद्धस्थल लक डाउन गर्नु परेको थियो ।
समितिले आकस्मिक बैठकको मुक्तिनाथ लक डाउन निर्णय मुक्तिनाथ आउने मार्गका कास्की,पर्वत ,म्याग्दी र बाग्लुङ लगायतका जिल्लालाई यसबारे जानकारी गराएको थियो । यस्तै ,वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले समेत मुक्तिनाथ र कागबेनी श्राद्ध स्थल लकडाउन गर्नुपर्ने प्रस्ताव स्थानीय प्रशासनलाई सिफारिस गरेको थियो ।