कोरोना संक्रमणले देश नै लकडाउनतिर गइरहेका बेला रगत अभाव हुने खतरा पनि छ । यो संकटमा सघाउन सोमबार नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाको आयोजना र पोखरा महानगरपालिका वडा नं. १७ को संयोजनमा रक्तदान आयोजना गरिएको छ ।
कोरोनाबारे सुरक्षा सावधानी अपनाएर रक्तदान आयोजना गरिएको उपशाखा सभापति झपिन्द्रराज रेग्मीले बताए । उनले भने, ‘उपशाखा स्थलमा साना साना समूहमा रक्तदाताले रक्तदान गरेका छन् भने धेरैले हालै कास्कीमा रेडक्रसले सुर गरेको रक्तसंकलन एम्बुलेन्स बसमार्फत टोल टोलमै रक्तदान गरेका छन् ।’
पहिलो रक्तदाता हरिराम देवकोटालाई ब्लगब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरिएको थियो । सोमबार महेश थापाले ४४ औं पटक रक्तदान गरे भने दृष्टिविहीन सम्राट गौतम उपाध्यायले पनि रगत दान गरे । पोखरा १७ का विभिन्न टोलमा भएको घुम्ती रक्तदान र उपशाखा परिसरमा गरी १ सय ६२ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले रेडक्रसले विगतदेखि नै आकस्मिक अवस्थामा मानवीय सहयोगका लागि काम गर्दै आएको बताए । उनले सजग, संयमित र धर्य बनेर संकटको सामाना गर्न आग्रह गरे ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले संकटको समयमा पनि रेडक्रस संयमतापूर्वक मानवीय सेवामा जुटिरहने प्रतिवद्धता गरे । २ वा त्यसभन्दा बढीले रगत दान गर्न चाहे रक्तसंकलन घुम्ती एम्बुलेन्समार्फत् घरदैलोमै पुगेर रगत संकलन गरिने बताए ।
कार्यक्रममा नेकपा पोखरा १७ सचिव ईश्वरीप्रसाद लम्साल, नेपाली कांग्रेस पोखरा १७ सभापति देवीराज आचार्य, उपशाखा १७ का सचिव हरिप्रसाद लम्साल लगायतले बोलेका थिए ।




