पोखराका ठूला अस्पतालमा आइसोलेसन

पोखराका सबै ठूला अस्पतालमा आइसोलेसन बेड बनाउने तयारी भएको छ । पोखराका विभिन्न क्षेत्रमा क्वारेन्टाइन बनाउने तयारी प्रदेश सरकारले निर्णय गरेको हो ।

पोखराका ५० शैयाभन्दा बढीका सरकारी र निजी अस्पतालले आफ्नै स्रोत र बजेटमा ५ बेडको आइसोलेसन र थप १० बेडको पिपिई सेट तयार गर्नुपर्ने भएको छ । प्रयोगशालाका कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था मिलाउन र भेन्टिलेटर चालु अवस्थामा राख्न पनि सरकारले निर्देशन दिएको छ ।

मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा समान १५ बेड, चरक मेडिकल कलेज ३० बेड, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान १०, जिपि कोइराला स्वाशप्रश्वास केन्द्र तनहुँमा ३० आइसोलेसन बेडको व्यवस्था गरिने भएको छ ।

लेखनाथ सामुदायिक अस्पताललाई डेडिकेटेड आइसोलेसन अस्पताल बनाइने भएको छ । यसका लागि आवश्यक पूर्वाधार, प्राविधिक र उपकरण प्रदेश सरकारले व्यवस्था गर्ने भएको छ ।
क्वारेन्टाइन होमका लागि पहिलो चरणका कृषि तालिम केन्द्र मालेपाटनलाई प्रयोग गरिनेछ । त्यसपछि कृषि, वन, भेटेरिनरी तालिम केन्द्र एवं सशस्त्र प्रहरी विपद् व्यवस्थापन केन्द्र लामापाटनलाई निर्देशन दिने शुक्रबारको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको हो ।

सरकारले विभिन्न स्थानमा हेल्थ डेस्क पनि स्थापना गर्ने निर्णय गरेको छ । त्रिवेणी, दाउन्ने, गैडाकोट, मुग्लिन, तनहुँ, आरुघाट, गोरखा, बुर्तिवाङ, बागलुङ, स्याङ्जाको राम्दीमा हेल्थ डेस्क स्थापन हुने भएको छ । ती नाका हुँदै गण्डकी प्रदेश आउने भारतीय गाडीको विशेष निगरानी गरिने भएको छ । तत्कालका लागि पिपिइ ५ सय थान, इन्फ्रारेड थर्माेमिटर ५ सय थान, मास्क २० हजार थान, सेनिटाइजर र डिसिन्फेन्टेन्ट १ सय लिटर उपलब्ध गराउन संघ सरकारसँग अनुरोध गरिने भएको छ ।

मातुशिशु मितेरी अस्पताललाई वैकल्पिक रुपमा तोक्ने र आर्मी अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा प्रयोग गर्न केन्द्र सरकारलाई अनुरोध गरिने भएको छ ।