कोरोना भाइरसका कारण विश्वमै केही देश थला परिसकेका छन् । करिब १ सय ७० देशमा यसको संक्रमण पुगेको छ । यही बेला लक डाउन भन्ने शब्द चल्तीमा आएको छ । भाइरसको संक्रमण रोक्न नेपालमा पनि लकडाउन गर्नेबारे छलफल भइरहेको छ । भारतले जनता कफर््यू नाममा लकडाउन गरिसकेको छ ।
केही दिनअघि कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालमा कुनै पनि बेला लक डाउन गर्नुपर्ने अवस्था आउनसक्ने संकेत गरेका थिए । नेपाल सरकारले संक्रमण रोक्नका लागि १५ बुँदे विभिन्न निर्णय गरिसकेको छ । त्यही नै लकडाउनको संकेत थियो ।
स्कूल, कलेज, सिनेमा हल, क्लब, सभा समारोह, सांस्कृतिक पर्व तथा कार्यक्रम लगायतका सार्वजनिक स्थल र गतिविधिमा सरकारले रोक लगाइसकेको छ । अर्थात् लक डाउन भनेको सबै क्षेत्र बन्द गरी घरमै बस्नु हो । बजार, हिडडुल, सार्वजनिक यातायात, कार्यालयकहरु बन्द गरी अत्यावश्यक काममा प्रशासनलाई जानकारी दिएरबाहेक घरभित्रै बस्नुपर्ने अवस्था नै लकडाउन हो । नेपालमा सर्वसाधारणलाई कम सास्ती हुने गरी लकडाउन गर्ने तयारी भएको छ ।
यो कर्फ्यु जति भने कडा हुँदैन । सार्वजनिक तवरले हिडडुल गर्न दिइए पनि बिहान तथा बेलुका निश्चित समयमा बाहिर निस्कन दिइन्छ । सर्वसाधारणले अति आवश्यक सामान किन्ने मौका यसमा पाउँछन् ।
‘लक डाउन’ को पहिलो चरणमा नाका सिल गर्ने, आपतकालीन अवस्थाबाहेक नियमित सार्वजनिक यातायातको सेवा रोक्ने गरिन्छ । होटल, रेष्टुरेन्ट, बार तथा डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बन्द हुन्छन् भने सार्वजनिक सेवा पनि निश्चित समयका लागि रोकिन सक्छन् । यो समयमा घरमै सावधानी बस्न र गम्भीर बिरामी परेबाहेक अस्पताल नआउन निर्देशन दिइन्छ ।
लक डाउन अवधिमा सुरक्षा निकायहरु परिचालन गरिन्छन् । पहिलो चरणको लकडाउनले पनि अवस्था नसुध्रिएमा दोस्रो चरणमा कडा व्यस्था गरिन्छ । सर्वसाधारणलाई घरमै बस्न आदेश दिइन्छ भने नमाने कारवाही गरिन्छ । कोरोनाबाट बाच्ने सबैभन्दा प्रभावकारी उपाय आइसोलेसन भएकाले चीन र युरोपका कोराना प्रभावित देशहरुमा पनि यही विधि अपनाइएको छ । हालसम्म कोरोना देखिइनसकेको नेपालमा पनि देखिएमा यही अवस्था आउन सक्छ ।









