कोरोना संक्रमितका लागि ७२ घण्टामै अस्पताल तयार

कोरोना भाइरसबाट संक्रमितका लागि उपचार गर्न चितवनको भरतपुरमा तयार गरिएको अस्थायी अस्पताल ७२ घण्टामा निर्माण सम्पन्न हुने भएको छ।

त्यहाँस्थित प्रदर्शनी कक्षलाई मंगलबारबाट अस्पतालको रुपमा तयार गर्न शुरु गरिएको र शुक्रबार ७२ घण्टा हुँदा सो भवनलाई अस्पतालको स्वरुपमा तयार गरिने र औपचारिक सञ्चालनमा ल्याउने बताइएको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सो अस्पताललाई शुक्रबार सञ्चालनमा ल्याइने जानकारी दिइन्।

‘भोलिबाट अस्पताल सञ्चालनमा आउनेछ। हामीले भनेको ७२ घण्टामा निर्माण गर्न सफल भयौं,’ दाहालले बताइन्। त्यसलाई भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल नाम दिइएको छ।

विश्वभर फैलिएको कोभिद–१९ को संक्रमण नेपालमा पनि फैलिनसक्ने आँकलन गरेर अस्पताल निर्माणलाई तीव्रता दिएको उनले बताईन्।

अस्पतालमा १० बेड सहितको आइसीयू, अत्याधुनिक तथा विशेष सुविधासहितका थप १० बेड सहितको अर्को एकाई र ५० बेड सहितको जनरल वार्ड तयार गरिएको छ।

सेना, प्रहरी र क्यान्सर अस्पतालको विशेष सहयोग, चितवनमा रहेका अन्य नीजि अस्पतालको प्राविधिक सहयोगमा सो अस्थायी अस्पताल निर्माण गरिएको हो।