चितुवाको आक्रमणबाट वन अधिकृतसहित ३ घाइते

पोखरामा बिहीबार बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित ३ घाइते भएका छन् ।

पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहानको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष ३० का श्याम थापा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय खगेन्द्रबहादुर गुरुङको बाथरुममा पसेको चितुवालाई निकाल्ने क्रममा एक्कासी आक्रमण गरेको जनाइएको छ ।

वन अधिकृत श्रेष्ठ र हवल्दार थापा सामान्य घाइते भएकामा उपचारपछि घर फर्किएको तथा स्थानीय थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थापाको टाउको र पाखुरामा चोट लागेको छ ।