पनौतीमा अनिश्चितकालीन कर्फ्यु

टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको पनौतीमा अहिले बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले अर्को सुचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको  छ।

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिकाको मृत्यु भएपछि आक्रोशित आफन्तजनले पनौतीमा आन्दोलन गरेका थिए।

सोमबार साँझदेखि भएको आन्दोलन नियन्त्रणमा नआएकोले कर्फ्यु जारी गरेको हो। आक्रोशित भीड र प्रहरीबीचको झडपमा गोली चल्दा १ प्रहरी हवल्दार र ४ प्रदर्शनकारी घाइते भएका थिए।