मदिरा शेवनबाट मृत्यु भएका परिवारलाई ३-३लाख दिने

धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३-३ लाख राहतस्वरुप प्रदान गर्ने भएको छ ।

मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा आज विहान पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

सो अवसरमा उनले विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराए । रम्दैया पुगेको मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै सुरक्षा समितिको बैठक बस्ने जानकारी गराउँदै सो वैठकमा खुल्ला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारवाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा निर्णय हुने बताएका छन् ।

रम्दैयामा विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १४ परिवारलाई आइतवार सांसद रघुबीर महासेठले व्यक्तिगत रुपमा प्रत्येक पीडित परिवारलाई काजकिरियाका लागि रु २० हजार प्रदान गरेका थिए।

विषाक्त मदिरा पिएका कारण १५ दिनयता धनुषाका रमदैया बस्तीमा ९, जनकपुरधाम उपमहानगरपालिका–७ मुसहर बस्तीमा ६ र लक्ष्मीनियाँ गाउँपालिका–६ बगेबामा गरी आइतबार साँझसम्म २० जनाले ज्यान गुमाइसकेका छन् ।