सेरा जागृति आमा समूह पोखरा १७ विरौटाले पैदलयात्रीलाई मास्क वितरण गरेको छ । समूहले आफ्नै लगानीमा सदस्यबाटै तयारी गरी विरौटा, डेभिजपल, गुप्तेश्वर गुफा लगायतका क्षेत्रमा करिब ५ सय मास्क वितरण गरेको छ ।
समूहकी अध्यक्ष विष्णुमाया पौडेलले पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीलाई मास्क वितरण गरी कार्यक्रम सुरुआत गरिन् । उनले समूहले आफ्नै लगानी र सदस्यबाटै महामारीविरुद्ध सचेतना अभियान थालेको बताइन् ।
वडाध्यक्ष अधिकारीले विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना संक्रमणको मुकाबिला गर्न यस खालका कदम सहयोगी हुने उल्लेख गरे । उनले भने, ‘विगतमा डेंगु विरुद्ध पनि हामीले अभियान चलाएका थियौं । यस खालका कार्यक्रम भए कोरोना नेपाल भित्रिए पनि क्षति कम हुन सक्छ ।’
सहरी स्वास्थ्य केन्द्र पोखरा १७ प्रमुख निर्मला अर्यालले कोरोनाबारे आतंकित नहुन तर सचेत बन्न आग्रह गरिन् । उनले भनिन्, ‘सय डिग्रीभन्दा माथि ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा वा रुघा लागेमा अथवा यी तीनै प्रकारका लक्षण देखिएमा स्वास्थ्य जाँच गराउनुपर्छ ।’ हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि नभए पनि विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको सार्वजनिक गरेकाले सजग हुन आग्रह गरिन् ।

स्वस्थ जीवन महान्, कोरोना विरुद्ध हाम्रो अभियान भन्ने नाराका साथ समूहले कार्यक्रम गरेको हो । कार्यक्रममा आमा समूहकी सचिव गंगा पराजुलीले पनि बोलेकी थिइन् ।




