विश्वभर फैलिएको नोवल कोरोना भाईरस ¬(कोभिड–१९ ) रोकथामका लागि हेल्थ डेस्क स्थापना गरिने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ –धाराले बताएका छन् । अध्यक्ष छेप्तेनले मंगलबार फेसबुक भिडियोमा जतिसक्दो चाडो हेल्थ डेस्क प्रक्रियालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अध्यक्ष छेप्तेनले स्थानीय प्रशासन तथा जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा भएको बहुसरोकारवाला बैठकले गरेको निर्णयलाई स्वागत गर्दै अबिलम्ब हेल्थ डेस्क संञ्चालन तर्फ पहल गर्ने जनाएका हुन् । उनले फेसबुक भिडियो मार्फतमा जिल्लाको लोमान्थाङ ,मुक्तिनाथ ,घासा र जोमसोम विमानस्थलमा हेल्थ डेस्क राख्ने तैयारी भएको जानकारी दिएका छन् ।
अध्यक्ष छेप्तेनले भिडियोमा भनेका छन् ‘कोरोना भाईरसको जोखिमले विश्व समुदाय शसकिंत छ ।धेरै देशमा कोरोना प्रकोप देखिएपनि हामी कहा भित्रिएको छैन । बुद्ध भगवानको कृपाले हामीलाई जोगाएको छ ।’ कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहन देश बिदेशका नेपालीहरुलाई अध्यक्ष गुरुङले आग्रह गरेका छन् । उनले कोरोना भाईरसको सन्त्रासबाट बिचलित नहुन समेत जिल्लाबासीलाई अनुरोध गरेका छन् ।
अध्यक्ष गुरुङले कोरोनाको कुनै संकेत देखिए हेल्थ डेस्कमा चेकजाच गर्ने सकिने बताउदै यस प्रकोपबाट सुरक्षित रहन खानेकुरामा ध्यान दिन ,सरसफाईमा ध्यान दिन र मानिसको हुलबाट अलग रहन समेत सचेत गराएका छन् । यस्तै वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले मंगलबार एक प्रेष बिज्ञप्ती जारी गरेर कोरोना भाईरसको जोखिमबाट सुरक्षित रहन स्थानीय सर्वसाधरणलाई सुसुचित गराएको छ ।




